तनहुँका क्रियाशिल पत्रकार २६ वर्षीय सविन लामिछानेलाई कात्तिक २१ गते ज्यान मार्ने धम्की दिएको आरोपमा सवारी चालक सुजन श्रेष्ठलाई प्रहरीले कात्तिक २२ गते गिरफ्तार गरेको छ ।
उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ तनहुँ शाखाले आपत्ती जनाएको छ । महासंघले ०८० कात्तिक २२ गते विज्ञप्ति जारी गरि पत्रकार लामिछानेलाई ज्यान मार्ने धम्की दिएको घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ ।
सदरमुकाम दमौलीबाट व्यास नगरपालिका–६ जाने सिन्धु मार्गमा गुड्ने ग १ ज ७५०५ नम्बरको यात्रुवाहक बसका चालक श्रेष्ठले पत्रकार लामिछानेको घरमा पुगी उहाँका बुवा आमालाई धम्काई पत्रकार लामिछानेलाई ज्यान मार्ने धम्की दिएको पत्रकार महासंघ तनहुँले जनाएको छ ।
अनलाइन खबर डटकम र पब्लिक फोरके टेलिभिजनका तनहुँ समाचारदाता लामिछानेले उक्त सवारी साधनमा ट्राफिक नियम उल्लङ्घलन गर्दै क्षमता भन्दा बढि यात्रु बोकेको बारेमा समाचार प्रकाशन गर्नु भएको थियो ।
पत्रकार महासंघ तनहुँ शाखाका सचिव प्रताप रानाले जारी गरेको विज्ञप्तिमा मादक पदार्थ सेवन गरी राती पत्रकार लामिछानेको घरमा गएर सवारी चालक श्रेष्ठले गाली गलौज र ज्यान मार्ने धम्की दिएको भन्दै उक्त घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कानुनी कारवाही गर्न प्रशासन समक्ष माग गरिएको छ । साथै पत्रकार लामिछाने र उहाँका अविभावकको जिउ ज्यानको सुरक्षा गर्न पनि माग गरिएको छ ।
पत्रकार लामिछानेले जिल्ला प्रशासन कार्यालयमा उक्त घटनाको बारेमा जानकारी गराएपछि तनहुँका सिडियो छविलाल रिजालको निर्देशनमा घटनाका दोषी सवारी चालक श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको थियो । आरोपित श्रेष्ठले पत्रकार लामिछानेका अभिभावकसँग माफी मागि आयन्दा यस्तो घटना नदोहो¥याउने लिखित प्रतिवद्धता जनाएपछि कात्तिक २२ गते नै दुई पक्ष विच मिलापत्र भएको पत्रकार लामिछानेले बताउनु भयो ।