महिला हिंसा निवारणका लागि राष्ट्रिय महिला आयोगले रणनीति बनाएर काम गर्ने राष्ट्रिय महिला आयोगका सदस्य सावित्री कुमारी शर्माले बताउनु भएको छ । महिला हिंसा निवारणका लागि सुरक्षा निकायसँग रणनीतिक योजना बैठकमा ०८० कात्तिक २२ गते सो कुरा बताउनु भएको हो ।

बागमती प्रदेशको प्रतिनिधित्व गर्दै धादिङमा गरिएको छलफलमा सहभागिहरूले महिला हिंसा निवारणका लागि २१ बुँदे रणनितिक योजना छलफल गरी सुझावका लागि पठाएको छ ।
रणनीतिक योजना बैठकले स्थानीय लैङ्गिक हिंसा निवारण कोष सञ्चालन समिति बनाउन सघाउने, फास्ट ट्याक कोर्ट अन्तर्गत व्यवहारिक रूपमा काम गर्न प्रकृयामा सघाउने, अन्तर्राष्ट्रिय स्तरको सरकारी तवरबाट महिला सुरक्षा आवास गृह बनाउन पहल गर्ने, लैङ्गिक समानता सामाजिक समावेशीकरण अनुसन्धान, अभियोजन गर्न संयोजन गर्ने, जिल्ला तहमा महिला बालबालिका सम्पर्क समन्वय इकाई राख्न माग गर्ने, पीडित सहयोग कार्यगत प्रणालीका लागि सिफारिस गर्ने, प्रहरी र स्थानीय जनप्रतिनिधि बिच लैङ्गिक समानता सामाजिक समावेशीकरणसम्बन्धी तालिम चलाउने, पीडितलाई आत्मनिर्भरताका लागि सीप विकास तालिम सञ्चालन गर्न सिफारिस गर्ने लगायतका विषय सिफारिस गर्ने निष्कर्ष निकालेको छ ।
रणनीतिक बैठकमा भएका छलफल र यसका निष्कर्षलाई महिला आयोगमा लगेर निर्णय गराएर कार्यान्वयनमा लाग्ने महिला आयोग सदस्य शर्माले बताउनु भयो । जिल्ला समन्वय समिति उपप्रमुख कुलमान विश्वकर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्री नाथ गैह्रे, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रले महिला हिंसासम्बन्धी तथ्याङ्क सहितको कार्यपत्र प्रस्तुत गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष ०७९/८० र ०८०/८१ को तीन महिनामा कुटपिटका ३९ ओटा, पालनपोषण नगरेको २६ ओटा, शारीरिक र मानसिक यातनाका तीन ओटा, झै झगडाका १७ ओटा, र गाली गलौजका दुई ओटा घटना रहेको एसपी मिश्रले उल्लेख गर्नुभयो ।
यसैगरी जबरजस्ती करणीका २७ ओटा, हाडनाता करणीका पाँच ओटा, जबर्जस्ती करणीका उद्योगका १३ ओटा, मानव बेचबिखनका चार ओटा र बालयौन दुरुपयोगका दुई ओटा घटना रहेको मिश्रले जानकारी दिनुभयो ।
