INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्पले घर चर्किएपछि परिवार विस्थापित : प्रशासनले चासो नदिएको गुनासो

चन्दननाथ नगरपालिका –१ का गणेशप्रसाद उपाध्यायको परिवार  कात्तिक १७ गतेको गएकाे भूकम्पले घर चर्किएपछि विस्थापित भएको छ । घरको चारैतिरको पर्खाल चर्किएको र पहिलो तला नै भत्किएपछि परिवार विस्थापित बनेको हो ।

घर चर्किएको छ । बस्न मिल्ने अवस्था छैन उहाँले भन्नुभयो, ‘अहिले गाउँमा बस्न घर खोजिरहेका छौं । सामान्य भूकम्पको कम्पन हुने वित्तिकै घर नै भत्किने अवस्था छ । गणेशप्रसादले पर्खाल भत्किएर छोरा च्यापिएको बताउनु भयो । उहाँका १७ वर्षीय छोरा सन्तोष उपाध्याय च्यापिएर जबरजस्ती निस्किनुभयो । उहाँको तिघ्रामा चोट लागेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचार पछि डिस्चार्ज भइसकेका छन् । गणेशको घरमा चार जनाको परिवार छ । भूकम्पले घर चर्किएर विस्थापित भएको भन्दै वडाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र नगरप्रमुख राजुसिंह कठायतले स्थलगत अवलोकन गर्नुभयो ।

तिला गाउँपालिका –९ मालापानीका धिरबहादुर बुढाको घर पनि भूकम्पले चर्किएको छ । उहाँको परिवार विस्थापित भएर गाउँलेको घरहरुमा बस्न थालेको छ । उहाँले भन्नुभयोे, ‘घरमा बसौं त सामान्य कम्पनले भत्किने अवस्था छ । नबसौं त चिसो समयमा घरबाहिर बस्न सकिने अवस्था छैन ।’ उहाँले भूकम्पले पुर्याएको क्षतिको विवरण सङ्कलन गर्न स्थानीय सरकार र सरोकारवालाले कुनै चासो नदेखाएको गुनासो गर्नुभयो ।

यस्तै यहाँका गाउँका धेरै घर चर्किएका छन् । गाउँहरु पराकम्प आउन थालेपछि रातभर आगो बालेर खुला आकाशमुनी जाग्राम बसिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार भूकम्पले जुम्लामा पाँच जना सामान्य घाइते भएका छन् । तातोपानी गाउँपालिका–३, बाहुनवाडा निवासी २६ कि सृर्जना गौतमको हातमा सामान्य चोट लागेको थियो । उहाँको ११ महिनाको छोरा आयुष गौतमको आँखामा चोट लागेको छ ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार तातोपानी गाउँपालिका–३ का १४ वर्षीय निराजन उपाध्यायको हातमा चोट लागेको छ । तिला गाउँपालिका–३, दानीवाडाका ११ वर्षीया सपना थापालाई पनि सामान्य चोट लागेको थियो । तातोपानी–४ का हरीबहादुर खत्रीको सुतेको बेला घरको पर्खाल खसेपछि भाग्न खोज्दा खुट्टामा चोट लागेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
स्थानीय प्रशासनका अनुसार तिलाको वडा न ३, ५ र ९ रहेका केही घरहरु तथा विद्यालयहरु चर्केका छन् । चन्दननाथ नगरपालिका–८ का ४६ वर्षीय विष्णु महतको तीन तले टिनले छाएको घरको एउटा कोठा भत्किएको र अरु कोठा चर्किएको छ । घाइतेहरुको उपचार सामान्य भएको हुँदा घरमै प्रथामिक उपचार गरिएको र ११ महिनाको आयुस गौतमको स्वास्थ्य चौकीमा उपचार भयो ।
जिल्लाको अवस्था मानवीय क्षति तथा कुनै ठूलो भौतिक क्षति नभएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो । उहाँले भन्नुभयोे, ‘एकिन तथ्याङकका लागि प्रहरी परिचालित गरिएको छ ।’

 

अन्य

भिडियो