INSEC Online

📅 २०८३ जेष्ठ २१

बुबाको पीरले चिन्तित छौँः बेपत्ता पारिएका व्यक्तिका परिवार

द्वन्द्वमा बेपत्ता हुनुभएका आफ्नो बुबाको २४ वर्ष बित्दा पनि अवस्था बारे सार्वजनिक नहुँदा बुबाको पीरले आफूहरू चिन्तित भएको भरतपुर महानगरपालिका-१२ स्थित आस्था टोलकी बेपत्ता पारिएका व्यक्तिका परिवार ४१ वर्षीया निशा न्यौपानेले बताउनु भयो ।

गीतानगर गाविस-२ निवासी ५३ वर्षीय दण्डपाणि न्यौपानेलाई ०५६ जेठ ७ गते काठमाडौँको सुन्धाराबाट नेपाल प्रहरीले गिरफ्तार गरी बेपत्ता बनाएको थियो । पीडितको बारे हालसम्म कुनै थप जानकारी प्राप्त हुन सकेको छैन । तत्कालिन समयमा राज्य पक्षले बेपत्ता पारेको तर बुबाको अवस्था के हो भन्ने यथार्थ जानकारी नहुँदा परिवारजन अन्यौलमै रहेको बेपत्ता पारिएका दण्डपाणिकी छोरी निशा न्यौपानेले बताउनु भयो ।

विद्रोही माओवादीका व्यक्ति रहेको भनि तत्कालिन राज्य पक्षले गिरफ्तार गरी लगेको आफ्नो बुबा एक दिन फर्केर घर आउने आशामा आफूहरू बाँचेको निशाको भनाइ छ । तर धेरै समय बित्यो, बुबाको खबर नपाउँदा आफूहरू निकै चिन्तित भएकोले बेपत्ता बुबाको खोजिको लागि पहल गरिदिन निशाले इन्सेकलाई आग्रह समेत गर्नुभयो ।

आफ्नो बुबाको खोजिका लागि बेपत्ता आयोग लगायत विभिन्न ठाउँमा विभिन्न मितिमा निवेदन दिए पनि खोजी नभएको निशा न्यौपानेको गुनासो छ । बुबा बेपत्ता नै हो की अन्य केही भइसकेको हो भन्ने अन्यौलताका कारण आफूहरूले बेपत्ता परिवारको परिचय पत्र समेत नलिएको उहाँको भनाइ छ । बेपत्ता आयोग बने पनि उहाँ लगायत थुप्रै नागरिकको अवस्था अझै अज्ञात छ । बेपत्ता आयोगमा आफूहरूले २०७४ सालमा बुबाको अवस्था बारे जानकारी लिन निवेदन दिएको तर आधिकारिक सूचना र यथार्थ जानकारी नपाएको उहाँले इन्सेकलाई जानकारी दिनुभयो ।

‘राज्य पक्षबाट हामीले केही मागेका छैनौँ केवल बुबाको अवस्था बताइदेउ हामी परिवारजन ढुक्क भएर बस्छौँ भनेका हौँ । बुबाको अज्ञात अवस्थाका कारण परिवारका सदस्यहरूमा मानसिक तनाव हुने गरेको छ’, निशाले भन्नुभयो ।

बेपत्ता परिवारको अवस्था बारे जानकारी लिन ०८० कात्तिक २१ गते इन्सेक बागमती प्रदेशका प्रलेख अधिकृत सोम नेपाली र इन्सेक जिल्ला प्रतिनिधि बेपत्ता परिवार निशा न्यौपानेको घर पुग्दा उहाँले बुबाको पीरले आफूहरू चिन्तित भएको बताउनु भएको हो ।

अन्य

भिडियो