इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको टोली स्वास्थ्यकर्मी र राहत सामाग्री सहित कात्तिक १८ गते भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पुगेको छ । इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदी नेतृत्वमा स्वास्थ्यकर्मी र राहत सामाग्री ल्याएर पुगेको हो ।
जाजरकोट सदरमुकाम पुगेर भूकम्प प्रभावित क्षेत्र भेरी नगरपालिका–३ थाप्ले स्थित माथिल्लो थाप्ले चौरमा बसेका नागरिकसँग राहतका विषयमा जानकारी लिनु भएको थियो । फिजियो थेरापीका रोशनी नेपाली सहित तीन जना डाक्टर र मनोपरार्शकर्ता दुई जना गरी पाँच जनाको टोली औषधि सहित बारेकोट गाँउपालिका गएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग छलफल गरी भेरी नगरपालिका–३ थाप्ले स्थित राधा माधव समितिका ओमप्रकास राठौरलाई १२ थान त्रिपाल, १५ थान बलाङकेट, ५० मिटर म्याड, २ बोरी चिउरा र १० प्याकेट दालमोट इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले हस्तान्तरण गर्नु भएको छ ।
जाजरकोट अस्पतालका बिरामीलाई भेट्न पुगेको टोलीले भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई उपचार तथा परामर्शमा सहयोग गर्न आएको बताएपछि स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रतिक्षा भारतीले बारेकाट गाँउपालिकामा जान आग्रह गरेपछि टोली घाइतेलाई उपचार गर्न तथा परामर्श दिनका लागी औषधि सहित बारेकोट गाँउपालिका गएको छ ।
प्रदेशका संयोजक सुवेदीका अनुसार कात्तिक १९ र २० गते ग्रामीण बस्तीका नागरिकलाई औषधि उपचारमा सहयोग गर्ने बताउनुभयो । विनाशकारी भूकम्पबाट पीडित नागरिकलाई सहयोग गर्न आएको संयोजक सुवेदीले बताउनुभयो । बारेकोट गाँउपालिका अध्यक्ष बीर बहादुर गिरीले रामीडाँडामा जान आग्रह गरेपछि टोलीले प्रभावित क्षेत्रमा गएर स्वास्थ्य शिविर संन्चालन गर्ने सुवेदीले बताउनु भयो ।


