भूकम्पमा परी घाइतेलाई सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आग्रह गर्नु भएको छ ।
भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोटमा कात्तिक १७ गते आएका प्रधानमन्त्री प्रचण्डले घाइतेको औषधि उपचार नेपाल सरकारले गर्ने बताउनु भएको हो ।
भूकम्प प्रभावित क्षेत्र जाजरकोट आउनु भएका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले घाइतेसँगको भेटका क्रममा औषधिको अभाव हुन नदिन सरकार गम्भीर भएर लाग्ने बताउनु भएको छ । औषधि पाईदैन की भनी हतोत्साहित नहुन घाइते तथा आफन्तलाई आग्रह गर्नु भयो । भुकम्पबाट प्रभावित नागरिकको औषधि उपचारको व्यवस्था नेपाल सरकारले मिलाएको बताउनु भयो ।
जाजरकोट जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा कार्यरत विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीको टोलीले घाइतेको उपचार राति १२ बजेबाट भइरहेकाे छ । घाइतेको सङ्ख्या बढ्न थालेपछि नेपाल सरकारले नेपालगन्ज, सुर्खेत, काठमाण्डौका अस्पतालमा कार्यरत जनशक्ति नेपाली सेना, सशस्त्र प्रहरीमा कार्यरत विशेष डाक्टरको टोली औषधि सहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेर उपचार गर्न थालेको छ ।
प्रधानमन्त्री प्रचण्डले जाजरकोट अस्पताल, नगर अस्पताल दल्लीमा उचारार्थ घाइतेको स्वास्थ्य अवस्था वारे स्वास्थ्यकर्मीसँग जानकारी लिनु भएको छ । प्रधानमन्त्री प्रचण्ड भुकम्प प्रभावित क्षेत्र दल्ली, रुकुम पश्चिमको आठबीसकोट पुग्नु भएको छ । राहात, उद्धारको बन्दो बस्तीका लागी जिल्ला प्रशासन कार्यालयमा सरोकारवालासँग बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनु भयो ।
विनाशकारी भूकम्पले एक सय वर्ष पुराना दरवार नष्ट भएका छन् । नागरिकका करोडौ मुल्य बराबरका घर सहित सामान नष्ट भएका छन् । मालपोत कार्यालय, नापी कार्यालयका भवन पूर्णरुपमा क्षति हुनुका साथै सामाग्री नष्ट भएका छन् ।
भूकम्पमा परी भेरी नगरपालिकामा ४२, नलगाड नगरपालिकामा ५५ ,छेडागाड नगरपालिकामा १, र कुसे गाउँपालिकामा ७ जना गरी अहिले सम्म १ सय ५ जनाको ज्यान गएको छ । जसमध्ये ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् । सयौँको सङ्ख्यामा नागरिक घाइते भएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीले घाईतेको उद्धार गरेका थिए । पचास शैयाको जाजरकोट अस्पतालमा सयाैँको सङ्ख्यामा घाइतेलाई बेड प्रयाप्त नभएपछि कोलियामै स्वास्थ्यकर्मीले उपचार गरेका थिए ।





