अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ‘२३ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट ज्येष्ठ नागिरक अभियान्ता डा. गौरीशङ्कर लाल दासलाई सम्मान गर्ने निर्णय गरेको इन्सेकले जनाएको छ ।
इन्सेक कार्यसमितिको २०७४ साउन ११ गते बसेको बैठकले विगत सात दशकदेखि मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा क्रियाशील डा. दासलाई ‘प्रकाश मानवअधिकार पुरस्कार-२०७३’ बाट सम्मान गर्ने निर्णय गरेको हो ।
‘पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा साउन १६ गते ललितपुरमा सम्पन्न हुने एक समारोहकाबीच डा. दासलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।’- साउन १५ गते इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको स्मृतिमा २०५१ सालमा स्थापित ‘प्रकाश मानव अधिकार पुरस्कार’बाट यसअघि २२ जना सम्मानित भइसकेका छन् । पुरस्कृत व्यक्तित्वलाई सम्मानपत्रसहित ५० हजार रुपियाँ प्रदान गर्ने गरिएको इन्सेकले जनाएको छ ।
थाइ एयरबसको विमान नुवाकोटको घोप्टेभीरमा ०४९ साउन १६ गते दुर्घटना हुँदा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको निधन भएको थियो ।