व्यास नगरपालिका–१०, बोटेगाउँका बोटे समुदायका नागरिकहरु दशैँमा लागेको ऋण तिर्न बालुवामा सुन खोज्न नदी किनारतर्फ लागेका छन् । दशैँ मान्दा लागेको ऋण तिर्न बोटे समुदायका बासिन्दाहरु सुन खोज्न नदी किनारतिर लागेको हुन् । साहुसँग ऋण मागेर राम्रोसँग दसैँ मनाउने र बालुवामा सुन खोजेर ऋण तिर्ने परम्परा अनुसार उनीहरु सुन खोज्न नदी किनारतिर लागेका हुन् ।
स्थानीय हर्कबहादुर बोटेले दशैँ मान्दा लागेको ऋण तिर्नकोलागि सुन खोज्न गएको बताउनु भयो । अहिले नदीमा सुन खोज्ने बोटेहरुको बाध्यता मात्र नभएर परम्परागत पेशा नै बनिसकेको हर्कबहादुरले बताउनु भयो । कोजाग्रत पूर्णिमापछि बोटे समुदायहरु सुन खोज्न प्रयोग हुने समान बोकेर नदी किनारा तर्फ लागेका हुन् । सुन खोज्न बोटेहरु त्रिशुली, कालिगण्डकी र बुढिगण्डकीनदीमा जाने गर्छन् । वर्षायाममा नदी र खोलामाा बाढी पहाडबाट सुनका कणहरु पनि बगाएर ल्याउने र ति सुनका कणहरु बालुवामा टाँसिएर रहने हुँदा बालुवा चाल्दा सुनका कण भेटिने हर्कबहादुरले बताउनु भयो ।
नदीको बालुवामा सुन खोजेर त्यही सुन संकलन गरी त्यसको विक्रीबाट आएको पैसाले दशैँ लगायत चाड पर्वको ऋण तिर्ने मेखबहादुर बोटेले बताउनु भयो । पूर्णिमा सकिएलगत्तै दशैंँको ऋण तिर्नका लागि केही बोटे नदी किनारतर्फ गइसकेको र केही जाने तयारी गरेको मेखबहादुरले बताउनुभयो ।
अधिकांश बोटेहरु धान र मकै खेती थन्काएर ज्येष्ठ नागरिक र बालबालिका बाहेक परिवारका अन्य सदस्यहरु आवश्यक सामाग्रीहरु लिएर बालुवा चाल्न नदी किनारमा जाने गरेको मेखबहादुरले बताउनु भयो दशैँपछि नदीमा पानीको बहाव पनि कम हुने र बालुवामा सुन खोज्न सहज हुने हुँदा यो मौसम उपयुक्त हुने बालुवामा सुन चाल्नु हुने सोममाया बोटेले बताउनुभयो ।
दशैँ मानेर सुन खोज्न जाने बोटेहरु माघे संक्रान्ति मान्न घर आउँछन् । त्यपछि फेरी खेतीपातीको सिजन हुने हुँदा घरमै बस्ने कर्णबहादुर बोटेले बताउनु भयो । पछिल्लो समय स्थानीय तहले बालुवाको ठेक्का लगाउँदा विगतको भन्दा निकै कम सुन पाइने बोटे समाजका अध्यक्ष निरज माझीले बताउनु भयो । नदीमा डोजर लगाएर बालुवा झिक्ने गरेको कारण बालुवामा सुन पाउन मुस्किल भएको माझीले बताउनु भयो ।
३२ घर रहेको बोटे समुदायका अधिकांश घर धुरी बालुवा खोज्न जाने गरेको अध्यक्ष माझीले बताउनु भयो । व्यास नगरपालिका–५, पाटन र व्यास नगरपालिका–७ पाथ्राका बोटेहरू पनि सुन खोज्न जाने बोटे समाजले बताएको छ । वर्षौ देखि यही पेशा गर्दै आएका बोटे समुदायको जीवनस्तरमा अझै पनि उन्नती हुन सकेको छैन ।
