जिल्लामा हवाई टिकट नपाएको भन्दै विद्यार्थीद्वारा जिल्ला प्रशासन कार्यालयमा कात्तिक १६ गते धर्ना दिएका छन् । उडान हुँदै आएका निजि तथा सरकारी एयरलाइन्सहरूले नियमित उडान नगर्दा विद्यार्थीले सास्ती खेप्नु परेको हो ।
विशेष गरी कर्णाली प्रदेशको सुर्खेतमा कात्तिक १८ गते हुने अध्यापन अनुमति पत्रको परीक्षा दिन जाने विद्यार्थी बढी मर्कामा परेको जिल्ला प्रशासन कार्यालयमा भर्नामा बसेका विद्यार्थी डोक्राज शाहीले गुनासो गर्नुभयो । दैनिक दिन समिट एयरले एक मात्रै उडान गर्ने र अन्य हवाई जहाज जिल्लामा उडान नभर्ने गरेपछि विद्यार्थीहरुले अहिले समस्यामा परेका छन् ।
एक हप्तादेखि हवाई टिकटको पर्खाइमा रहेका २७ जना विद्यार्थी हाल हुम्लाको विमान स्थलमा अलपत्र परेका छन् । विद्यार्थीहरु अध्यापन अनुमति पत्रको कात्तिक १८ गते हुने परीक्षाका लागि सुर्खेत जाने टिकट नपाएपछि धर्ना दिएका हुन् ।
जिल्ला बाहिर झर्ने अन्य कुनै विकल्प नभएपछि विद्यार्थीहरूले प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको ध्यानार्कषण गराएका हुन् । उक्त ध्यानार्कषणपछि प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लामा उडान हुने समिट एयर र नेपाल एयरलाइन्सलाई पहल गरी विद्यार्थीहरुरूलाई कात्तिक १७ गतेसम्म उडान भर्न सक्ने बताउनुभयो ।
जिल्ला बाहिर जाने स्वयंम विद्यार्थीले अध्यापन अनुमति पत्रको परिचयपत्र जिल्ला प्रशासन कार्यालयमा बुझाएको र एयरलाइन्सका कर्मचारीसंग सहमतिको उपाय खोज्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । त्यस्तै अन्य स्थानीय यात्रु भने हवाई टिकट नपाएकै कारण पैदल मार्ग भएर सुर्खेत र नेपालगन्ज प्रस्थान गर्न बाध्य भएका छन् ।
दुई हप्तासम्म विमान स्थलमा टिकटका लागि कुरे पनि टिकट नपाएपछि अन्त्यमा सिमकोटदेखि सलिसल्लासम्म हिडेर जानु पर्ने बाध्यता रहेको स्थानीय देवराज शाहीले बताउनुभयो ।

