INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायका लागि पहल गरिदिन द्वन्द्वपीडित परिवारद्वारा इन्सेकसमक्ष आग्रह

साबिक थाम्पालधाप गाविस-७, हाल पाँचपोखरी थाम्पाल गाउँपालिका-६ की सुनिता अधिकारीले द्वन्द्वको समयमा आफ्नो पति युक्तबहादुर अधिकारीको हत्या भएको घटनाले आफू पीडित भइरहेको र हालसम्म पनि न्याय नपाएको भन्दै न्यायका लागि पहल गरिदिन इन्सेकसमक्ष आग्रह गनुभएको छ ।

तत्कालिन सशस्त्र द्वन्द्वको समयमा ०६० फागुन ६ गते बेलुकी आफ्नै घरमा खाना खाइरहेको अवस्थामा चार जना माओवादी कार्यकर्ता आएर केही कुराकानी गर्नु छ भन्दै बोलाएर लगेकोमा सुनिताका पति ३४ वर्षीय युक्तबहादुर अधिकारीलाई घर भन्दा केही तल लगि खुकुरी प्रहार गरी हत्या गरेका थिए । मृतक अधिकारीको शव भोलिपल्ट बिहान घरभन्दा तलपट्टीको चौतारीमा फेला परेको थियो । द्वन्द्वको समयमा आफ्नो पतिको जघन्य प्रकृतिले हत्या भएको २० वर्ष पुग्दा पनि आफूले न्याय नपाएको भन्दै न्यायका लागि इन्सेकसमक्ष आग्रह गरेको द्वन्द्वपीडित सुनिता अधिकारीले बताउनु भयो ।

शसस्त्र द्वन्द्वका पीडितहरूलाई न्याय दिलाउनको लागि सरकारले गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोगमा किटानी उजुरी गरे पनि आफूले न्याय नपाएको उहँको गुनासो छ । त्यसैगरी पतिको हत्यामा संलग्न दोषीलाई कानुनी कार्बाही गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग, तत्कालिन अवस्थामा रहेको नेपाल स्थित संयुक्त राष्ट्र सङ्घीय उच्च आयुक्तको कार्यालय, शान्ति मन्त्रालय लगायत विभिन्न निकायमा आफूले उजुरी दिए पनि कतैबाट सुनुवाइ नभएको द्वन्द्वपीडित सुनिता अधिकारीको गुनासो छ ।

द्वन्द्वपछिको सङ्क्रमणकालिन अवस्थामा परिपूरण कार्यक्रम अन्तर्गत १० लाख रुपियाँ सरकारले दिएर मात्र आफूलाई न्याय नभएको उहाँको भनाई छ । ‘आफ्नो पतिको हत्यामा संलग्न व्यक्तिहरू खुल्लेआम हिँड्डुल गरिरहने, म भने पतिको हत्याको बियोगले सधैँ पीडा लिएर रुँदै बस्नु पर्ने, यो कस्तो न्याय हो ?’ द्वन्द्वको पीडा भोग्दै आउनुभएकी सुनिताको प्रश्न छ ।

युक्तबहादुर अधिकारी तत्कालिन समयमा सामुदायिक वन उपभोक्ता इलाका महासङ्घका अध्यक्ष र ०५४ सालको स्थानीय निर्वाचनमा निर्वाचित वडा अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँकी पत्नी सुनिता अधिकारी हाल दोस्रो पटक पाँचपोखरी थाम्पाल गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ । घरमा बेलुकीको खाना खान लाग्दै गरेको अवस्थामा माओवादीले बोलाएर लगेका युक्तबहादुर अधिकारीको हत्या आफूहरूले गरेको माओवादीले वक्तव्य मार्फत तत्कालको अवस्थामा स्वीकार गरेका थिए ।

घरमा बास बसेका आफ्ना पतिको हत्या गरेर तत्कालिन विद्रोहीले गम्भीर प्रकृतिको गल्ती गरेकोले घटनामा संलग्नलाई कानुनी कार्बाही हुनु पर्ने द्वन्द्वपीडित सुनिता अधिकारीको माग छ ।

Photo_080-7-16_Sindhupalchok

अन्य

भिडियो