३९ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले अर्घाखाँची जिल्ला सितगंगा नपा–४ का २८ वर्षीय निरज थापा मगरलाई पाँच वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश ताराकुमारी शर्माको इजलासले कात्तिक १५ गते थापामगरलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद र १ लाख ५० हजार रूपियाँ जरिबाना गर्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।
पीडितलाई आरोपितले ०७९ फागुन १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १५ गते वडा प्रहरी कार्यालय, लमहीमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भएको थियो ।