INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारका मापदण्ड कार्यान्वयन गर्नु सबैको भूमिका महत्वपूर्ण : मन्त्री जिसी

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले मानव अधिकार रक्षाका लागि नेपालले गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरु कार्यान्वयन गर्नु नागरिक, सरकार र नागरिक समाज सबैको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

इन्सेक कर्णाली प्रदेश कार्यालयले कात्तिक १५ गते वीरेन्द्रनगरमा आयोजना गरेको अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी मापदण्ड तथा मानव अधिकारमा आधारित दृष्टिकोणबाट कानुन तर्जुमा कार्यशालाको उद्घाटन सत्रमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मानव अधिकार मैत्री नीति नियम बनाउन स्थानीय, प्रदेश र संघीय सरकार सबैको समन्वय हुन आवश्यक रहेको बताउँदै प्रदेश सरकारले गर्ने काम कारवाहीमा मानव अधिकारलाई ध्यानमा राखिएको जानकारी दिनुभयो ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले मानव अधिकारको रक्षा गर्न सके मात्रै सामाजिक न्याय स्थापित हुने बताउनुभयो ।

‘सामाजिक न्याय स्थापित गर्नका लागि मानव अधिकारको रक्षा हुन आवश्यक छ । जसको लागि विधिको शासन महत्वपुर्ण हुन्छ, ’डा. अर्यालले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय कानुन मापदण्ड नेपालले पालना गरेको छ । त्यसको कार्यन्वयन गर्न जनता र जनप्रतिनिधि सचेत हुनपर्दछ ।’

स्थानीय र प्रदेश सरकारलाई  कानुन निर्माण र कार्यान्वयनमा  यस कार्यशालाले सहयोग पुर्याउने अध्यक्ष अर्यालले अपेक्षा राख्नुभयो । नेपाल सरकारले लिएको मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना सफल बनाउन तीनै तहका सरकारको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ छ ।

त्यस्तै कर्णाली प्रदेश सभाकी सांसद विजया बुढाले कर्णालीमा दिनहुँ मानव अधिकारको हनन् र महिला हिंसाका घटना बढेकोले न्यूनिकरण गर्नका लागि सबैले समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रशिक्षक एवं पूर्व सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले नागरिक अधिकार तथा राजनीतिक अधिकार, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्तीका लागि यस कार्यशालाले महत्वपुर्ण भूमिका खेल्ने बताउनुभयो ।

इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले दुई दिने कार्यशालाको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक कर्णाली प्रदेश कार्यालयले गरेका क्रियाकलापहरुको जानकारी गराउनुभएको थियो ।

कार्यशालामा मानव अधिकार रक्षकका सुरक्षा र संरक्षणसम्बन्धमा मानव अधिकार रक्षकहरुले तयार गरेको प्रस्तावित विधेयकका विषयमा पूर्व डिन तथा मानव अधिकार रक्षक सञ्जालका संयोजक पीताम्बर ढकालले प्रस्तुत गर्नु हुनेछ । कार्यशाला उद्घाटन कार्यक्रमको सञ्चालन इन्सेकको अधिकार–२ परियोजनाका कार्यक्रम संयोजक किरण पौडेलले गर्नुभएको थियो ।

दुई दिने कार्यशालामा दैलेख, सुर्खेतका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रदेश सभाका सांसद, मन्त्रीहरु, विषयगत समितिका पदाधिकारी लगायत ३० जनाको सहभागिता रहेको छ ।

Photo20231101Surkhet (16)

Photo20231101Surkhet (10)
20231101_110004(1)

20231101_105520(1)

Photo20231101Surkhet (3)

Photo20231101Surkhet (17)

Photo20231101Surkhet (9)  Photo20231101Surkhet (11)

Photo20231101Surkhet (12)

 

अन्य

भिडियो