INSEC Online

📅 २०८३ जेष्ठ २१

द्वन्द्वपीडितलाई भेट्ने समय नदिएकाले राष्ट्रसङ्घ महासचिव गुटेरेसको नेपाल भ्रमण अधुरो रहेको नागरिक अगुवाहरूको भनाई

नागरिक समाजका अगुवाहरूले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले नेपाल भ्रमणका क्रममा गाजामा मानवीय युद्धविरामको महत्त्व, द्रुत गतिमा जलवायु सङ्कटका खतराहरू, शाक्यमुनि सिद्धार्थ गौतमको शान्तिको सन्देशलाई उजागर गर्न सफल भए तापनि द्वन्द्वपीडितहरूको आग्रहका बाबजुद उहाँहरूलाई भेट्ने समय नदिँदा उहाँको नेपाल भ्रमण अधुरो रहेको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्यद्वय डा. गौरीशंकरलाल दास र सुशील प्याकुरेल, राष्ट्रिय सभाकी सांसद डा. विमला राई पौड्याल, अध्येता एवम् अधिकारकर्मी हिरा विश्वकर्मा, पूर्व राष्ट्रपतिका सल्लाहकार टीका ढकाल र लेखक तथा पत्रकार कनकमणि दीक्षितले नेपालस्थित संयुक्त राष्ट्रसङ्घकी आवासीय प्रतिनिधि हन सिंगर हाम्दीमार्फत राष्ट्रसङ्घका महासचिव गुटेरेसलाई नोट पठाउँदै उहाँको नेपाल भ्रमण अधुरो भएको बताएका हुन् ।

नागरिक अगुवाहरूले राष्ट्रसङ्घ महासचिवलाई पठाएको नोटमा नेपालको स्वदेशी शान्ति प्रक्रियाको सार्वजनिक स्वीकृति, प्रशंसा र नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रियालाई न्यायपूर्ण र मानवीय रूपमा बन्द गर्नका लागि अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तहरूका साथै नेपालको सर्वोच्च अदालतका फैसलाहरूको महत्त्वलाई प्रकाश पारिदिएकोमा गुटेरेसको प्रशंसा गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेलले सङ्क्रमणकालीन न्यायको मुख्य सरोकारवालाका रूपमा रहेका द्वन्द्वपीडितलाई भेट्दै उहाँहरूका कुरा नसुनेर राष्ट्रसङ्घका महासचिवले आफ्नो भ्रमणलाई अपुरै राखेको बताउनु भयो । प्याकुरेलले संयुक्त राष्ट्रसङ्घबाट एउटा विशेष प्रतिनिधि जस्तो पठाएर यो शान्ति प्रक्रियालाई अगाडि बढाउनका लागि सहयोग गर्ने भन्ने कुरामा केही षड्यन्त्र हुने हो कि भन्ने कुरा बाहिर आएको जनाउनु भयो । संयुक्त राष्ट्रसङ्घले नेपालको शान्ति प्रक्रिया सही ढङ्गले सङ्क्रमणकालीन न्यायमा अन्तर्राष्ट्रिय मापदण्ड पुग्यो कि पुगेन भनेर अनुगमन गर्नु पर्ने तर आफै जोडिने प्रयास गरेको खण्डमा उसको विश्वसनीयतामा पनि असर गर्ने उहाँले उल्लेख गर्नुभयो ।

त्यसैगरी अर्का नगरिक अगुवा एवम् पत्रकार कनकमणि दीक्षितले सङ्क्रमणकालीन न्याय प्रक्रियाको पूर्व सर्तहरूमा राष्ट्रसङ्घका महासचिव गुटेरेसको अडानले गर्दा सरकारले पीडितमैत्री कानुन निर्माण गर्नेछ भन्ने आशा गर्न सकिएता पनि बितेको समय र राजनीतिक सार्थकताको नाममा अपराधी मैत्री कानुन बनाउँदै शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन नदिने राष्ट्रिय र अन्तर्राष्ट्रिय गार्ने तत्वहरूको चालप्रति राष्ट्रसङ्घ सचेत हुन आवश्यक रहेको बताउनु भयो ।

महासचिवसँग भेटका लागि आग्रह गर्दै द्वन्द्वपीडित साझा चौतारीका कार्यकारी अध्यक्ष कल्याण बुढाथोकी, द्वन्द्वपीडित राष्ट्रिय सञ्जालका अध्यक्ष गोपाल शाह, अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र केसी, बेपत्ता परिवार समाजका अध्यक्ष रूपेश शाह, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालकी अध्यक्ष सिर्जना सिंहले महासचिव गुटेरेसलाई सम्बोधन गर्दै कत्तिक १३ गते पत्र लेखेर नेपालबाट फर्कनु अघि कात्तिक १५ गतेको बीचमा भेट्ने समय मिलाउन आग्रह गर्नुभएको थियो । तर राष्ट्रसङ्घका महासचिवको सचिवालयले उहाँ फर्कने अघिल्लो दिनसम्म पनि द्वन्द्वपीडितको माग बमोजिम भेटघाटको लागि समय उपलब्ध गराएको छैन ।

अन्य

भिडियो