आफ्ना पूर्व पति चेतन मानन्धरको हत्यामा अदालतबाट जन्मकैदको फैसला सुनाइएका योगराज ढकाल (रिगल) को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयको विरोधमा निरन्तर रिले अनशन बस्नुभएकी भारती शेर्पा रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनको क्रममा बेहोस हुनुभएको छ ।
मानन्धरको हत्या गरेको कसुरमा थुनामा रहेका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले सजाय माफी दिएपछि उक्त निर्णय खारेजीको माग गर्दै ०८० असोज १७ गतेदेखि माइतीघर मण्डलामा ०८० कात्तिक ४ गतेसम्म रिले अनशनमा बस्नुभएको थियो । दशैँका बेलामा रिले अनशन रोक्नुभएकी भारतीले कात्तिक १२ गतेदेखि माइतीघर मण्डलामा पुनः रिले अनसन सुरु गर्नुभएको थियो ।
भारतीको आन्दोलनमा सुरुवाती दिनदेखि नै ऐक्यवद्दता र व्यवस्थापन जनाउँदै आउनुभएका बाँकेका आशिष मल्ल ठकुरीले पत्रकार सम्मेलनमै बेहोस भएपछि भारतीलाई उपचारका लागि वीर अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको इन्सेकलाई जानकारी दिनुभयो ।
तत्कालिन समयमा तरुण दल, बाँकेको क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति रहेका ढकालले भारतबाट सञ्चालन हुने बसहरूबाट गरिने अवैध हप्ता असुलीमा व्यवधान गरेको भन्दै ०७२ असार २८ गते अपराह्न ३ बजे चेतन मानन्धरलाई नियन्त्रणमा लिएर नेपालगञ्जको सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेका थिए । हत्यापछि फरार रिगलले ०७२ भदौ ७ गते बाँके जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।
चेतनको हत्या अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले ०७५ वैशाख ११ गते योगराज ढकाललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । त्यस घटनामा छविलाल बस्नेत, प्रशान्त भन्ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैद, सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र मल्ललाई पाँच वर्ष तथा हरि वली, यामबहादुर बुढामगर, मनीष चौलागाईं, विवाद पाठक, केशव रोकाय, माधव परियार, प्रीतम थापालाई तीन/तीन वर्ष कैद सजाय सुनाएको थियो ।
ढकाललाई उन्मुक्ति दिन कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय, दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय र कैद मिनाह गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको आदेशलाई उल्ट्याइ पाउँ भन्दै भारतीले ०८० असोज १४ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको थियो ।
भारतीले दर्ता गरेको रिटमा ०८० असोज १८ गते सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासले सुनुवाई गर्दै असोज २४ गते साँझ ५ बजेभित्र लिखित जबाफ बुझाउन सबै विपक्षीलाई आदेश जारी गरेको थियो । न्यायाधीश शर्माको इजलासले योगराज ढकाल (रिगल) सँग जोडिएका सबै फैसला, निर्णयसहितको सक्कल मिसिलहरू समेत मगाउँदै पीडितले दायर गरेको रिट निवेदनलाई अग्राधिकार दिएर सर्वोच्च अदालतको पूर्ण इजलासमा निरन्तर सुनुवाई गर्न समेत आदेश जारी गरेको थियो । भारतीले दायर गरेको रिटमा असोज २५ गते पेशी तोकिए पनि हेर्न नमिल्ने भनेर कात्तिक १४ गतेलाई सारिएको थियो । अब उक्त रिटमा ०८० कात्तिक १४ गते देखि निरन्तर सुनुवाई हुनेछ ।