सरकारले नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रुपमा अघि सारेको राष्ट्रिय परिचयपत्र कोशी प्रदेशका अधिकांश नागरिकले प्राप्त गर्न सकेका छैनन् ।
राष्ट्रिय परिचयपत्रका लागि विवरण उपलब्ध गराएका अधिकांश नागरिकले परिचयपत्र पाउन नसकेका हुन् ।
नेपाल सरकारले ०७६ माघ २८ गते राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन जारी गरेपछि “राष्ट्रि य परिचयपत्र व्यवस्थापनको रणनीतिक योजना २०७५” कार्यान्वनमा आएको छ ।
राज्यले प्रदान गर्ने सेवासुविधा र अधिकारहरू नागरिकले प्राप्त गर्ने पहिलो आधार व्यक्तिगत घटना दर्तासँग जोडिएको राष्ट्रिय परिचयपत्रलाई सरकारले नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रूपमा अघि सारेको छ ।
“राष्ट्रिय परिचयपत्र” व्यक्तिका परिचय प्रमाणीकरणको डिजिटल समाधान भएकाले यसको कार्यान्वयन सरकारले राष्ट्रव्यापी रूपमा गरिरहेको छ ।
आर्थिक वर्ष ०६६ ०६७ को वार्षिक नीति तथा कार्यक्रमपछि सरकारले सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रको रूपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने फोटोसहितको बायोमेट्रिक कार्डको रूपमा राष्ट्रिय परिचयपत्रलाई अनिर्वाय गरेको छ ।
व्यक्तिगत घटना दर्तासहित मतदानका लागि समेत राष्ट्रिय परिचयपत्र अनिर्वाय हुने भएकाले सरकारले राष्ट्रिय परिचयपत्रलाई नागरिक तथा राजनीतिक अधिकार उपयोगको पहिलो आधार मान्ने भएको छ ।
राज्यबाट प्रवाह हुने सार्वजनिक सेवा सहज र सुलभ ढङ्गमा नागरिकले उपभोग गर्न पाएको अवस्थामा मानव अधिकारको प्रत्याभूति हुने नेपालको संविधानको भाग ३ मा रहेको मौलिक हक र भाग ४ मा रहेको राज्यका नीति निर्देशक सिद्धान्त तथा नीतिहरूमा उल्लेख छ ।आर्थिक वर्ष ०७५(०७६ मा तत्कालीन सरकारका गृहमन्त्री रामबहादुर थापाले कोशी प्रदेशको पाँचथर जिल्लाकी १ सय १ वर्षीया ज्येष्ठ नागरिक भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र वितरण गरेपछि सरकारले राष्ट्रिय परिचयपत्रलाई नागरिकताको विकल्पका रूपमा अघि बढाएको छ ।
राष्ट्रिय परिचयपका लागि आर्थिक वर्ष ०७७(०७८ मा १ करोड बढी नेपालीको विवरण सङ्कलन गर्ने लक्ष्य सरकारको भएपनि कोशी प्रदेशका विभिन्न जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण दिएका नागरिकहरूले राष्ट्रिय परिचयपत्रको विवरण प्राप्त गर्न सकेका छैनन् ।

सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका जिल्लामा राष्ट्रिय परिचयपत्र लिनका लागि विवरण दर्ता गर्नेको संख्या ५० हजार ३ सय १६ जनापुगेको छ । ०७७ सालको साउन महिनादेखि हालसम्म दर्ता गर्नेको संख्या ५० हजार ३ सय १६ जना पुगेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग जिल्ला प्रशासन कार्यालय विवरण दर्ता इकाइ सोलुखुम्बुको तथ्यांकअनुसार ०७७ सालको ९ महिनामा महिला र पुरुष गरी २ हजार ७ सय ६१ जनाले विवरण दर्ता गराएका छन् ।०७८ सालमा ५ हजार ९ सय २७ जना र ०७९ सालमा ६ हजार ९ सय ६६ जनाले विवरण दर्ता गराएको सरकारी तथ्याङ्कमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले अभियानकै रूपमा जिल्लाका आठ ओटै स्थानीयतहमा सञ्चालन गरेको शिविरबाट ३१ हजार ७ सय ४१ जनाले आवेदन दिएका हुन । त्यस्तै १८ हजार ५ सय ७५ जनाले जिल्ला प्रशासन कार्यालयमै आएर फारम भरेका थिए । जसमध्ये जिल्लामा आएर फारम भर्नेमा ११ हजार १ सय १८ जना पुरुष र ७ हजार ४ सय ५७ जना महिला छन् । १४ हजार बढी नागरिकको राष्ट्रिय परिचयपत्र छापिएर जिल्ला आइपुगेको छ । कार्ड छापिएर आएकामध्ये ०८० असोज समान्तसम्म २ सय ७९ जनाले परिचयपत्र प्राप्त गरेका छन् । १३ हजार ७ सय ५१ थान कार्ड जिल्ला प्रशासन कार्यालयमा रहेको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताउनु भयो । राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएपनि कार्ड वितरण भने फितलो रहेको परिचयपत्रका लागि विवरण दिनेहरूले गुनासो गरेका छन् ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार राष्ट्रिय परिचयपत्रका लागि जिल्लामा ९५ हजार भन्दा बढीको विवरण संकलन भएको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि सङ्खुवासभामा ९५ हजार ६ सय ८८ जनाको विवरण संकलन भइसकेको राष्ट्रिय परिचयपत्र वितरण शाखाकी प्रमुख आशा जबेगुले जानकारी दिनुभयो । राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालय खाँदबारी र इलाका प्रशासन कार्यालय चैनपुर बाट विवरण संकलन भइरहेको छ । सङ्खुवासभामा राष्ट्रिय परिचयपत्रका लागि २०७६ साउन ३ गते बाट विवरण संकलन थालिएको हो । हालसम्म ४ हजार राष्ट्रिय परिचयपत्र जिल्ला आइपुगेको छ । जिल्ला प्रशसन कार्यालयबाट विवरण संकलन भएका करीव चार हजार राष्ट्रिय परिचयपत्र जिल्ला आइसकेको राष्ट्रिय परिचयपत्र वितरण शाखाकी प्रमुख जबेगुले बताउनुभयो । परिचयपत्र लिन व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने जनाएको छ । राष्ट्रिय परिचयपत्र बनेर जिल्ला आइसकेपछि सम्बन्धित ब्यक्तिको मोवाइलमा एसएमएस पठाइने गरेको उहाँको भनाइ छ ।‘फिङ्गर प्रिन्ट’ रुजु गर्न अनिवार्य र पिन नम्बर पनि रहेकाले परिचयपत्र लिने व्यक्तिलाई आफैं उपस्थित हुने पर्ने प्रमुख जगेबुले बताउनुभयो । गत साउन ११ गते बाट परिचय पत्र समेत वितरण सुरु भएको छ । सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा कोशी प्रदेशका सङ्खुवासभा र झापा बाट विवरण संकलन सुरु गरेको थियो । राष्ट्रिय परिचयपत्रका लागि जिल्लाका १० वटै स्थानिय तहमा पुगेर डाटा संकलन गरिएको थियो । स्थानिय तहमा छुट भएका तथा नयाँ नागरिकता र राहधानीका लागि समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । पछिल्लो समय नागरिकता र राहधानी बनाउनेको संख्या बृद्धि भए सँगै राष्ट्रिय परिचयपत्र विवरण संकलनको संख्या बृद्धि भएको छ । परिचयपत्र विवरण संकलनमा व्यक्तिको नाम, थर, जन्म मिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम, दश औँलाको छाप, नागरिकता नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षर आदि आवश्यक पर्ने वितरण शाखा खाँदबारीकी प्रमुख जबेगुले बताउनुभयो । परिचयपत्र निर्माणका लागि नागरिकता, विवाह दर्ता, बसाइँसराइ कागजको सक्कल आवश्यक पर्ने बताइएको छ ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार राष्ट्रिय परिचयपत्रका लागि जिल्लामा ०८० असोज मसान्तसम्ममा ९३ हजार ४ सय ५५ जनाले राष्ट्रिय परिचयपत्रको विवरण भरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । परिचयपत्रको विवरण भर्नेमा २६ हजार ३ सय ८५ जनाले जिल्ला प्रशासन कार्यालयबाट र ६७ हजार ७० जनाले जिल्ला प्रशासन कार्यालयले टोलटोलमा सञ्चालन गरेको अभियानबाट विवरण भरेका हुन् । जिल्ला प्रशासन कार्यालयबाट विवरण भरेका मध्ये १५ हजार ४ सय ६८ जना पुुरुष र १० हजार ९ सय १७ जना महिला छन् । टोलटोलमा सञ्चालन गरिएको अभियानबाट जम्मा विवरण मात्रै आएको तर लिङ्गगत विवरण नआएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी ममता गुरागाईले बताउनु भयो । जिल्लामा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य ०७७ साल साउन १ गतेबाट गर्ने निर्णय भए पनि प्राविधिक व्यवस्थापन गरेर साउन ७ गतेदेखि सुरु गरिएको हो । परिचयपत्रको विवरण भर्नेहरुमा हालसम्म १ सय ११ जनाले पाएकोमा ७५ पुरुष र ३६ महिला रहेका छन् । धनकुटामा १ हजार ५ सय परिचयपत्र आएकोमा लिन आएका १ सय ११ जनाले मात्रै लगेको गुरागाईले बताउनु भयो । नेपाली नागरिकता प्रमाणपत्रको कमिकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउने उद्देश्यले नेपाली नागरिकलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने अवधारणा ल्याइएको सरकारले जनाएको हो । राष्ट्रिय परिचयपत्र अन्तर्राष्ट्रिय मापदण्डको डिजिटल कार्ड हो । गुरागाईका अनुसार एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, लाइसेन्स, फोटोसहितको मतदाता परिचयपत्र र जग्गाधनी पुर्जाजस्ता सामग्री बोकेर हिड्ने झण्झट हुँदैन । राष्ट्रिय परिचयपत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्मका घटना दर्ता हुने भएकाले नागरिकले राज्यबाट पाउने सेवा तथा अधिकारका लागि राष्ट्रिय परिचयपत्र महत्वपूर्ण हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार राष्ट्रिय परिचयपत्रका लागि जिल्लामा विवरण सङ्कल भएका १ लाख ६० हजार ५ सय ९० मध्ये जिल्ला प्रशासन कार्यालयले ०८० समान्तसम्म १ हजार २ सय ९० जनालाई परिचयपत्र वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयमा पुगेर डाटा विवरण बुझाएका २१ हजारमध्ये कार्यालयमा १७ हजार ७९ जनाको कार्ड छापिएर आएको सहायक जिल्ला अधिकारी धु्रव कोइरालाले बताउनु भयो । पर्वपछि ४ हजार कार्ड वितरण हुने कोइरालाले बताउनु भयो । परिचयपत्र लिन व्यक्ति स्वयम्लाई कार्यालयमा हाजिर गराइएको छ । प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिननम्बर समेत रहेकाले परिचयपत्र लिन आफैँ आउनुपर्ने सूचना जारी गरेको छ । जिल्लामा परिचयपत्रका लागि ०७७ साउन १४ गतेबाट विवरण सङ्कलन थालिएको थियो । ०७७ साउन १७ गते १० ओटा स्थानीय तहमा पुगेर नागरिकको वयक्तिगत तथा बायोमेट्रिक विवरण संकलन गरिएको थियो ।‘ अहिलेलाई प्रशासन कार्यालयमा आएकाको मात्र कार्ड छापिएर आएको छ ।’ सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले भन्नु भयो ,‘स्थानीय फोटो खिचाएकाको चैँ यसपछि आउने जानकारी छ ।’
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा ०८० असोज समान्तसम्म राष्ट्रिय परिचयपत्रका लागि २१ हजार ५ सय १६ जना नागरिकको विवरण सङ्कलन गरिएको छ । राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भएकामध्ये ३ सय ६९ जनाले राष्ट्रिय परिचयपत्र लिएका छन् । जसमा २ सय ७८ पुरुष र ९१ जना महिला रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नाम दर्ता गराउनेमध्ये ११ हजारको कार्ड बनेर आएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताउनु भयो । जिल्लामा ०७७ साउन १ गतेबाट राष्ट्रिय परिचयपत्र दर्ता कार्य सुरू भएको थियो । सरकारले पासपोर्ट बनाउन तथा अन्य सरकारी सेवाका लागि समेत राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै नाम दर्ता गराउनेको सङ्ख्या बढेको प्रमुख जिल्ला अधिकारी बरालले बताउनु भयो । सरकारले दैनिक जीवनमा आवश्यक पर्ने सम्पूर्ण प्रशासनिक कामकाजका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न लागेकाले सबै नागरिकहरूका लागि आवश्यक रहेकोले नेपाली नागरिकता प्राप्त गरेका सबैलाई राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराउन प्रमुख जिल्ला अधिकारी बरालले आग्रह गर्नु भएको छ ।
पाँचथर प्रतिनिधि इवारा जवेगु लिम्बूका अनुसार जिल्लामा ०८० कात्तिक ३ गते सम्ममा १ लाख १२ हजार जनाको राष्ट्रिय परिचय पत्रका लागि विवरण संङ्कलन गरिएको छ । जसमध्ये ८८ हजार ६ सय २ जनाको कार्ड प्राप्त भइसकेको छ भने ७२ हजार १ सय २ जनालाई वितराण गरिसकिएको छ । २०७५ असार ५ गतेबाट देशमै पहिलोपल्ट पाँचथरबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संङ्कलन थालिएको थियो । राष्ट्रिय परिचयपत्रका लागि २०७५ सालमा जिल्लाको ८ वटै स्थानीय तहको वडामा पुगेर डाटा सङ्कलन गरिएको थियो । तिनपुस्ते विवरण, नागरिकता सक्कल, विवाहितको हकमा विवाह दर्ता, बसाइसराईको हकमा बसाइ सराई दर्ता, सम्बन्ध विच्छेदको हकमा सम्बन्ध विच्छेद दर्ता जस्ता विवरण संकलन गरिएको र राष्ट्रिय परिचयपत्र कार्ड वितरण पनि गरिएको जिल्ला प्रशासन जनाएको छ । स्थानीय तहमा छुट भएका तथा नयाँ नागरिकता र पासपोर्टका लागि राष्ट्रिय परिचय पत्रको विवरण धमाधम संङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । परम्परागत रुपमा दिइरहेको नागरिकता हराउने, झुत्रो हुने,फोटो विग्रिने लगायतका समस्यालाई हटाएर स्मार्टकार्डको अवधारणा र डिजिटल्ली रुपमा नागरिकताको सबै विवरण समावेश गरेर अन्तराष्ट्रियस्तरमा पनि महत्व दिन र पासपोट बनाउनका लागि पनि राष्ट्रिय परिचयपत्रको आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी मेखराज मग्रान्तीले बताउनु भयो ।मिक्लाजुङ र तुम्बेवा गाउँपालिकाका सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्रका लागि फिदिम धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागी ०८० असोज २५ गतेबाट मिक्लाजुङ गाउँपालिकास्थित इलाका प्रशासन कार्यालय रविबाट पनि राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्य शुरु गरिएको प्रमुख जिल्ला अधिकारी मेखराज मग्रान्तीले बताउनु भयो ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्ला प्रशासन कार्यालय भोजपुरले छपाई भएर आएको राष्ट्रिय परिचयपत्र वितरण थालेको छ । जिल्लाभर हालसम्म ९५ हजार ७ सय २२ जनाको विवरण संकलन भएको छ । घुम्ती शिविरमार्फत ७१ हजार १ सय ९३ र जिल्ला प्रशासनमा २४ हजार पाँच सय २९ जनाको संकलन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा संकलन भएका २४ हजार ५ सय २९ जनाको बिवरण मध्ये ९ हजार ७ सय ७१ जनाको राष्ट्रिय परिचय पत्र छपाई भएर आएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनु भयो । छपाई भएका आएको मध्ये ४५ जनाको भने वितरण समेत भई सकेको उहाँले जानकारी दिनुभयो । आफ्नो सक्कल नागरिकता सो नभएमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउदा दिइएको कागज अथवा आफ्नो बैयक्तिक विवरण खुल्ने कगजात लिएर परिचयपत्र लिनका लागि जिल्ला प्रशासन कार्यालय आउन सकिने प्रजिअ घिमिरेले बताउनु भयो । उहाँले भन्नुभयो, “छपाई भएर आएको परिचयपत्रहरु केही दिन पछि आवश्यक कागजातको आधारमा नागरिकलाई नियमित बितरण गर्न सुरु गरिने छ ।” राष्ट्रिय परिचय पत्रका लागि भोजपुरमा अहिलेसम्म ९५ हजार ७ सय २२ जनाको बिवरण संकलन भई सकेको राष्ट्रिय परिचयपत्र पञ्जिकरण शाखाका अपरेटर किरण नेपालीले बताउनु भयो । हस्तलिखित हस्ताक्षर, १० औँलाको औँठा छाप, आँखाको रेटिना लगायत व्यक्तिको वैयक्तिक र जैविक सूचनालाई आधिकारीकरुपमा संकलन गरी नागरिकलाई एक अर्कासँग मेल नखाने गरी परिचय पत्रको नम्बर प्रदान गरिने उहाँको भनाइ छ । जिल्ला प्रशासन कार्यालय भोजपुरले राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गराउनु नागरिकहरुको छपाई भएर आएको परिचय पत्र बितरण सुरु गरेको हो । परिचय पत्रका लागि बिवरण दर्ता गराउनु भएका केही नागरिकहरुको परिचय पत्र छपाई भएर आएकाले बितरण थालिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । “छपाई भएर आएको परिचय पत्रहरु केही दिन पछि आवश्यक कागजातको आधारमा नागरिकलाई नियमित बितरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । भोजपुरमा २०७७ साउन १७ गतेबाट पहिलो पटक राष्ट्रिय परिचय पत्रका लागि बिवरण संकलन कार्य सुरु गरिएको थियो ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लामा ०८० असोज अन्तिम सम्ममा राष्ट्रिय परिचयपत्रका लागि ४० हजार भन्दा बढीको विवरण संकलन गरिएको छ । राष्ट्रिय परिचयपत्रका लागि ५५ हजार ६ सय ७० जनाको विवरण संकलन गरिएको राष्ट्रिय परिचयपत्र वितरण शाखा प्रमुख यशोदा श्रेष्ठले बताउनु भयो । राष्ट्रिय परिचय पत्रका लागि जिल्ला प्रशासन कार्यालयबाट नागरिकको व्यक्तिगत तथा वायोमेट्रिक विवरण संकलन भएको छ । जिल्लामा परिचयपत्रका लागि ०७७ साल साउनबाट विवरण संकलन गर्ने थालिएको हो । राष्ट्रिय परिचयपत्रका लागि ०७७ साउनबाट जिल्लाका ६ वटा स्थानीय तहमा डाटा संकलन गरिएको थियो । स्थानीय तहमा छुट भएका तथा नयाँ नागरिकता र पासपोर्टका लागि समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । पछिलो समय नागरिकता र पासपोर्ट बनाउनेको संख्या बृद्धि भएसगै राष्ट्रिय परिचय पत्रको विवरण संकलनको संख्या बृद्धि भएको छ । जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण बुझाएका नागरिकहरूले ०८० असोज समान्तसम्म राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकेका छैनन् ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रुपमा अघि सारिएको जिल्लाका अधिकांश नागरिकले प्राप्त गर्न सकेका छैनन् । जिल्लामा ०८० असोज समान्तसम्म परिचयपत्रका लागि ४३ हजार नागरिकको व्यक्तिगत विवरण बुझाएको भएपनि परिचयत्र ३ सय ८१ जनाले मात्र पाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७०।०८० मा ३६ हजार ८ सय ९६ जना र चालू आर्थिक वर्षमा ६ हजार ३ सय ६ जनाले परिचयपत्रका लागि विवरण बुझाएका छन् ।