INSEC Online

📅 २०८३ जेष्ठ २२

राष्ट्रिय महिला आयोग र इन्सेकबीच हिंसाबारे छलफल

IMG-20231017-WA0005
राष्ट्रिय महिला आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बीच राजविराजमा ०८० असोज ३० गते सप्तरी जिल्लाको महिला हिंसा तथा मानव अधिकारको अवस्था बारे छलफल भएको छ ।

राष्ट्रिय महिला आयोगकी सदस्य जया घिमिरे, इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान, प्रलेख अधिकृत मोहन कुमार चौधरी, सहायक अधिकृत बरुण बस्याल, इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेल, आयोगकी नायव सुब्बा दुर्गा खनालबीच इन्सेक सप्तरी प्रतिनिधिको कार्यालयमा जिल्लाको अवस्था बारे छलफल भएको हो ।

जिल्लामा भएका महिला हिंसाको घटनाहरू, प्राप्त सफलता र टुंगोमा नपुगेका घटना, घटना वृद्धि हुनुका कारण तथा राज्य, आयोग र इन्सेकले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल भएको छ । जनचेतना र शिक्षाको स्तरमा कमि, सामाजिक र आर्थिक अवस्थाका कारण फौजदारी अपराधहरू बलात्कार, हत्या जस्ता घटनाहरू पनि गाउँ मै पञ्चायत बसेर मिलापत्र गर्ने तथा प्रहरी, प्रशासन र अदालतमा उजुरी दर्ता पश्चात पनि मिलापत्र गरेर होस्टाइल हुने अवस्थाका बारे पनि विश्लेषण गरिएको छ । जानकारीको अभावमा गाउँ घरमा घट्ने विभिन्न किसिमको घटनाहरूमा पीडितहरूले कानुनी उपचार नखोज्ने र घटना नै सार्वजनिक नहुने अवस्थाबारे छलफलमा चिन्ता गरिएको छ ।

आयोगकी सदस्य घिमिरेले महिला अधिकार, स्वास्थ्य तथा प्रजननको अधिकार जस्ता अभिमुखिकरण कार्यक्रमहरू ग्रामिण भेगमा सञ्चालन गर्नु पर्ने, समन्वय, सहकार्यलाई आत्मसात गर्दै सरकारी कार्यालयहरू मानव अधिकारमैत्री बन्नुपर्ने बताउनु भयो ।

इन्सेक मधेस प्रदेशका संयोजक पासवानले पछिल्लो समय उमेर नपुगेका बालबालिका भागेर विवाह गरेपछि अपहरण, बलात्कारको मुद्दा दर्ता गर्ने क्रम बढेको हुँदा विद्यालयमा जनचेतनामूलक तालिम तथा अभिमुखिकरण कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने आवश्यक्ता रहेको बताउनुभयो ।

छलफलले महिलाहरूको जनचेतना अभिवृद्धिका साथै आयआर्जन, पुनर्स्थापना सम्बन्धी कार्यक्रम तथा आयोजनाहरू सञ्चालन गर्न राज्यलाई जवाफदेही बनाउनु पर्नेमा जोड दिइएको छ ।

अन्य

भिडियो