INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार

पाल्पा जिल्ला निस्दी गाउँपालिका–१ घरभई वडा प्रहरी कार्यालय, रामनगरमा कार्यरत ३१ वर्षीय नेपाल प्रहरीका असई प्रविनकुमार रानालाई कुटपिट गरेको  आरोपमा प्रहरीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका तीन जनालाई असोज २८ गते बुटवलबाट  गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा बुटवल उपमहानपा–११ मजुवाका २४ वर्षीया रागिनी श्रेष्ठ, २१ वर्षीया शाकिरा भनिने  सुरज परियार र बुटवल उपमनपा–२ पारी बुटवल वस्ने १८ वर्षीय प्रियंका सुनार रहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।

पीडितलाई आरोपितहरूले असोज २७ गते राती गस्तीमा रहेको प्रहरीमाथि ढुंगाले प्रहार गरेर  घाइते बनाएका थिए । लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायको व्यक्तिको कुटपिटबाट पीडितको टाउको र निधारमा  गम्भीर चोट लागेको, टाउकोमा रगत धेरै जमेकाले असोज २७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा टाउकोको शल्यक्रिया गरी भेण्टिलेटरमा राखि उपचार गरिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल बरिष्ठ फिजिसियन डा. सुर्दशन थापाले घाइतेको  टाउकोमा गम्भीर चोट लागेकाले दिमागको बाहिरी र भित्री लेयरमा रगत जमेकोले शल्यक्रिया गरेर भेण्टिलेटर राखी उपचार गरेको र दुई दिनपछि आइसीयुमा राखेर उपचार भइरहेको बताउनु भयो ।

घाइते असईलाई तत्कालै हेलिकप्टर बोलाएर काठमाण्डौ लैजाने तयारी गरिएको भएपनि डाक्टरले बिरामीको अवस्था हेर्दा काठमाण्डौ पुर्र्या‍याउन्जेल ढिला हुने भएकाले बुटवलमै अपरेशन गरिएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा ब्लु डायमण्ड सोसाइटीका अध्यक्ष पिङ्की गुरुङले घटनाप्रति दुख व्यक्त गर्दे घाइते घटनामा आफ्नो समुदायको संलग्नता रहेकोप्रति आफूहरूको ध्यानार्कषण भएको र घटनाका विषयमा सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारहाही गरिनुपर्ने बताउनु भयो ।

एक्लोलाई सहारा दिने वृक्ष संस्थाका कार्यक्रम संयोजक तेस्रो लिङ्गी अधिकारकर्मी मनिला न्यौपानेले अपराध गर्ने छुट कसैलाई नभएको भन्दै दोषीलाई कारबाही हुनु पर्ने बताउनु भयो ।

अन्य

भिडियो