बलात्कारका घटना अपरिचितबाट भन्दा चिनेजानका वा आफन्तबाट असुरक्षित हुने गरेका छन् । आफन्तबाट हुने भएकाले अनुसन्धान गर्न कठीन हुने गरेको प्रहरी अधिकारीहरुले बताउँछन् । पछिल्ला केही वर्षका घटनाक्रमले पीडितहरू करिब १० देखि १७ वर्षबिचका बालिकाहरू धेरै रहेको पाइएको छ । त्यसभित्र कहिलेकाही २४ महिनादेखिका बालिका पनि बलात्कारका घटनाबाट पीडित हुने गरेका छन् ।
घटना नं. १ कञ्चन गाउँपालिकाकी १० वर्षीया बालिका भदौ १८ गते आफ्नै बुवाबाट बलात्कृत हुनु भयो । घटनाबाट डराएर छटपट्एिकी बालिकाले हजुरआमालाई भनेपछि घटना बाहिर आएको थियो ।
घटना नं. २. सुध्द्धोधन गाउँपालिकाकी १३ वर्षीया बालिका असार ४ गते काकाबाट बलात्कृत हुनु भयो । आरोपितले कसैलाई भने आमा र बहिनीलाई मारिदिने धम्की दिएर बलात्कार गरे । कक्षा ५ मा अध्ययनरत बालिकाले विद्यालय जान नमान्ने टोलाएर बस्ने गरेपछि आमाले सोध्द्धा घटना बाहिर आयो ।
घटना नं. ३ कञ्चन गाउँपालिकाकी १२ वर्षीया बालिका साउन ९ गते बुवाको यौन दुर्व्यवहार पर्नु भयो । बालिका चिच्याएर भाग्ने क्रममा आमाले फकाएर सोध्दा घटनाबारे आमालाई बताए पछि आरोपित विरूद्ध साउन ११ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दर्ता भयो ।
घटना नं.४ देवदह नपाकी १० वर्षीया बालिका ०७९ चैत ७ गते ३३ वर्षीय बुवाको यौन दुर्व्यवहारमा पर्नु भयो । आमा र छिमेकीको सहयोगमा आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा चैत ८ गते उजुरी दर्ता भयो ।
घटना नं. ५ तिलोत्तमा नपा की २० वर्षीया युवती ०७९ पुस २० गते ४७ वर्षीय बुवाबाट यौन हिंसामा पर्नु भयो । “घरको कोठामा बसेको बेला काम छ भनी कोठाभित्र पसेर चुकुल लगाएर यौन प्रस्ताव राखे मैले इन्कार गर्दा पनि जबरजस्ती गर्यो । कसैलाई भने भाइ र आमालाई सिध्याइदिन्छु भनी धम्की दिएको पीडितले बताउनु भयो ।
माथि उल्लेखित घटनाहरू प्रतिनिधि मुलक घटनाहरू हुन यस्ता थुप्रै पीडितहरू छन् जुन आफ्नै आफन्त र नजिकका मान्छेबाट यौनजन्य हिंसा भोगिरहन परेको छ ।
प्रदेश प्रहरीको तथ्यांक अनुसार आव.०७६/०७७ मा ४ सय ४३ जना, ०७७/०७८ मा ५ सय ६९ जना, ०७८/०७९ मा ५ सय १४ जना, ०७९/०८० ४ सय ४७ जना र ०८०/०८१ मा ९१ जना पीडित भएको तथ्यांक छ ।
तथ्यांक अनुसार आ.व. ०७६/०७७ मा रुपन्देहीमा सबैभन्दा धेरै ६३ जना र सबैभन्दा कम रुकुम पूर्वमा पाँच जना पीडित भए । त्यस्तै आ.व. ०७७/०७८ मा रुपन्देही र दाङ्गमा सबै भन्दा बढी ८० जना र सबैभन्दा कम रुकुम पूर्वमा चार जना पीडित भए । ०७८/०७९ सबैभन्दा बढी पीडित दाङ जिल्लामा ८३ जना र सबैभन्दा कम अर्घाखाँची र रुकुम पूर्वमा चार, चार जना पीडित भए ।
त्यसैगरी, ०७९/०८० मा सबैभन्दा बढी दाङ ८५ जना र सबैभन्दा कम अर्घाखाँची ६ जना पीडित भए । ०८० /०८१ मा दाङ र रुपन्देहीमा २१ जना पीडित भएको लुम्बिनी प्रदेश प्रहरीको तथ्यांक रहेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशको विगत पाँच वर्षको तथ्यांकलाई विश्लेषण गरेर हेर्दा बालिकाविरुद्ध हुने यौनजन्य हिंसाको तथ्यांक विगतको तुलना डरलाग्दो देखिन्छ । आ.व. सन् २०१८ मा १ सय ५८ ओटा घटना घटेकोमा सन् २०१९ मा २ सय ४८ जना, सन् २०२० मा २ सय ८३ जना, सन् २०२१ मा २ सय ८० जना, सन् २०२२ मा २ सय ९५ जना र २०२३ मा २ सय ४२ जना पीडित भएको देखिन्छ ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालयका प्रमुख द्धारिका अधिकारीले घरभित्र हुने यौन हिंसा विरूद्ध पीडितले लडन र न्यायमा पहुँच पुर्याउन सक्ने वातावरणकोे ग्यारेण्टी राज्यले गर्नुपर्ने बताउनु हुन्छ ।
घर भित्र परिवार र चिनजानका सदस्यहरुबाटै हुने यौन हिंसाका विषयमा विभिन्न सामाजिक मुल्य मान्यताका कारण भन्न नसक्ने, असुरक्षित भइने, त्यही घरमा बस्ने उसैले कमाएको खाने र उसैका विरूद्ध आवाज उठान गर्न नसक्ने भएकोले राज्यले त्यस्ता पीडितहरूका लागि गाँस, बास, सुरक्षित आवास, सुरक्षा र शिक्षा लगायत न्याय प्राप्त गर्नका लागि आर्थिक, कानुनी सहायता जस्ता आधारभूत आवश्यकताहरू परिपूर्ति गर्नुपर्ने बताउनु हुन्छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यकारी निर्देशक विजयराज गौतमले घरभित्र हुने यौनजन्य हिंसाका पीडितहरूले सुरक्षाको वातावरण नभएको कारण पीडालाई दबाएर राख्ने, समयमा उजुरी दिन नसक्नु, घरपरिवारभित्र घटेका घटनाहरूमा प्रहरीले पनि भरसक मिल्नुस भनी उजुरी नलिने जस्ता समस्या भएको बताउनु भयो ।
गौतमले पीडितलाई न्यायको पहुँचमा पुरयाउनका लागि संरचनागत सुधार गरेर, उजुरी लिने प्रहरीको क्षमता अभिवृद्धि गरेर सक्रिय बनाउने जस्ता कामहरूलाई प्राथमिकतामा राख्ने र बलात्कारविरूद्ध शुन्य सहिष्णुताको नीति अवलम्बन गरी पीडितलाई न्यायको पहुँचमा पुर्याउनुपर्ने भन्दै आफ्न्त र विश्वास गरिएका व्यक्तिहरूबाट गरिएको दुर्व्यवहारको सुनुवाइ नहुँदा र असुरक्षित महशुश भएका कारण आत्महत्याका घटनाहरू बढेकाले राज्य सम्वेदनशील हुनुपर्ने बताउनु भयो ।
बलात्कारका घटनालाई विशेष प्राथमिकतामा राखेर हेरिनुपर्नेमा त्यसो नगरिँदा पीडितहरूले प्रहरी कार्यालय तथा अदालतमा बारम्बार झेल्ने तनाव र दुर्व्यवहारले उल्टै पीडकलाई प्रोत्साहन गरिरहेको गुनासाहरू पनि आउने गरेको गौतमले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एपसी भरतबहादुर विकले घरभित्र बालिकाहरू असुरक्षित हुनु यौनजन्य हिंसाको शिकार हुनु भनेको मानसिक समस्या भएका व्यक्तिहरूको मनोविज्ञानका कारण पीडित हुने गरेको र विगतको तुलनामा घटना बढेको नभएर उजागर भएका कारण उजुरीको संख्या बढेको बताउनु भयो । एसपी बिकले बलात्कार जसले गरे पनि मानवताविरूद्धको गम्भीर अपराधका घटनाहरूमा प्रहरी सम्वेदनशील भएर लागेको बताउनु भयो ।
बलात्कारका आरोपितहरूमध्ये अधिकांश घरभित्रै र नजिकका मान्छे भएकोले कतिपय अवस्थामा इज्जत जाने समाजमा प्रतिष्ठा घट्ने कारणले पनि उजुरी ढिला आउने गरेको र त्यस्ता घटनामा पीडितको न्यायका र सुरक्षाका लागि विभिन्न निकायहरूसँग समन्वय गरेर पीडितलाई सुरक्षित आवास गृहमा पठाउने र आरोपितलाई कानुन बमोजिम सजायका लागि कारबाही अगाडि बढाएको बताउनु भयो । उहाँले यस्ता खालका अपराधहरू घटाउनका लागि जनचेतना कार्यक्रम र कानुनी शिक्षामा जोड दिनुपर्ने बताउनु भयो ।