INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा मोरङ कारागारको अनुगमन

मोरङ कारागारको निमार्णाधीन भवन, कैदीबन्दीको अवस्थालगायतका विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगरले असोज २६ गते अनुगमन गरेको छ ।

मानव अधिकारकर्मी र अधिवक्ताहरूको टोलीले कारागारको नवनिर्मित भवन, कैदीबन्दीको अवस्थालगायतका विषयमा कारागार कार्यालय, मोरङका जेलर कृष्णहरि न्यौपानेसँग कारागारको अवस्थाका विषयमा जानकारी लिएको छ ।

Photo 20231013 Morang (1)

इन्सेक कोशी प्रदेश संयोजक सोमराज थापा, प्रलेख अधिकृत पुण्य अधिकारी, उच्च वार मानव अधिकार समिति मोरङ संयोजक अनिल खड्कासहित अधिवक्ताको टोलीले कारागारको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा कैदीबन्दीलाई सुत्न समस्या भएको विषयमा टोलीले जेलरको ध्यानाकर्षण गराएको छ ।

आगामी केही महिनाभित्रमा नवनिर्मित भवन सञ्चालनमा आएपछि सुत्नबस्नको समस्या समाधान हुने जेलर न्यौपानेले बताउनु भयो ।

अधिकारकर्मीसँगको भेटमा जेलर न्यौपानेले कारागारलाई सरकारले उपलब्ध गराउने बजेट न्यून भएका कारण समस्या हुने गरेको बताउनु भयो । कारागारमा हाल ६० जना क्षयरोगी भएका र उनीहरूलाई छुट्टै कोठामा राखी व्यवस्थापन गरिएको जेलर न्यौपानेले बताउनु भयो ।

जेलर न्यौपानेले विराटनगरमा क्षयरोगको उपचार हुने भएकाले प्रदेशभरी रहेका कारागारहरूले क्षयरोगी कैदी वा बन्दी आउने वित्तिकै मोरङ कारागार पठाउने गरेका कारण क्षमता भन्दा बढी दायित्व निर्वाह गर्नु परेको बताउनु भयो ।

सिमित बजेटमा मोरङ कारागारको व्यवस्थापन गर्नुपर्ने भएकाले सरकारले बजेटको व्यवस्थापन उचित ढङ्गमा गरे मोरङ कारागारमा सुधार हुने बताउनु भयो ।

कारागारका अहेव भीमकुमार राईले दरबन्दीका एक जना अहेब र संस्थाको सहयोगमा दुई जना चिकित्सकको व्यवस्था भएपनि कैदीबन्दी बढी भएका कारण समस्या हुने गरेको बताउनु भयो । उहाँले कारागारमा रहेका सबैखाले विरामीको आधारभूत स्वास्थ्य जाँच, कोशी अस्पतालमा रेफर गर्नुपर्नेलगायतका कारण जनशक्ति अभाव भएको बताउनु भयो ।

२ सय ५० जना क्षमता भएको मोरङ कारागारमा हाल ९ सय ४४ जना पुरूष, ९८ जना महिला र पाँच जना आश्रित बालबालिका गरी १ हजार ४७ जना छन् ।

Photo 20231013 Morang (4)

Photo 20231013 Morang (5)

Photo 20231013 Morang (6)

Photo 20231013 Morang (8)

Photo 20231013 Morang (9)

अन्य

भिडियो