INSEC Online

📅 २०८३ जेष्ठ २२

पानी दिने आशा देखाएर पटक—पटक निर्वाचनमा भोट हाल्नुपरेको रेक्चाबासीको गुनासो

चौकुने गाउँपालिका—५ रेक्चाका लक्षिराम बुढाले पुर्खौदेखि आफुले शुद्ध खानेपानी खान नपाएको गुनासो गर्नुभयो । वर्षाको पानी जम्मा भएको, भैसी बस्ने आहलदेखि कुवाको पानी खाएको र पानीको समस्या समाधान गर्न सरकारी निकायबाट व्यवास्ता भएको बुढाले गुनासो गर्नुभयो ।

इन्सेक कर्णाली प्रदेशद्धारा असोज २२ गते आयोजित रेक्चा खानेपानी समस्या समाधान सम्बन्धी संवाद कार्यक्रममा उहाँले पालिकाका जनप्रतिनिधि र सरोकारवाला निकाय समक्ष आफ्नो गुनासो सुनाउनुभयो । ‘बाजेका पालादेखि हामीले राम्रो पानी खान पाएका छैनौं । कुवामा दुई गाग्रीका हिसाबले नापेर पानी खाएका छौं,’लक्षिरामले भन्नुभयो, ‘२०४८ सालपछिका हरेक निर्वाचनमा नेताहरूले पानी दिने आशा देखाएर हाम्रो मत लिइरहेका छन् । अझै कति निर्वाचनमा हामीले भोट हाल्नुपर्ने हो नेताज्यू ।’ लक्षिरामले प्रश्न गर्नु भयो । उहाँले देशमा संघीयता आएपनि रेक्चावासीलाई संघीयताले नछाएको गुनासो गर्दै शुद्ध पानी खुवाउन तीनै तहका सरकारलाई अनुरोध गर्नुभयो ।

त्यस्तै रेक्चाकै अर्की स्थानीय प्याउरी बुढाले अदालतले खानेपानीको व्यवस्था गर्न आदेश दिँदा पनि सम्बन्धीत निकाय बेखबरजस्तै बनेको आरोप लगाउनुभयो ।

‘पानी खान पाउँ भनेर हामी अदालतसम्म पनि गयौं । अदालतले हाम्रो पक्षमा आदेश जारी गर्यो, ‘उहाँले भन्नुभयो, ‘तर, स्थानीय, प्रदेश सरकार आश्वासन मात्रै दिन्छन् । समस्या समाधान गर्ने तर्फ बेखबर छन् ।’

चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले रेक्चावासीलाई पानी दिनका लागि पालिकाले निरन्तर पहल कदमी गरेपनि विद्युत अभावका कारण उद्देश्य पुरा हुन नसकेको बताउनुभयो ।

‘रेक्चावासीलाई पानी खुवाउने हाम्रो पनि ठुलो लक्ष्य छ । तर, त्यहाँ पानीको मुहान छैन । नदीबाट पानी माथि ल्याउन विद्युतको आवश्यकता पर्दछ । त्यहाँ आवश्यक पर्ने विद्युत छैन, ‘लक्षिरामको प्रश्नको उत्तर दिँदै उहाँले भन्नुभयो, ‘सौर्य उर्जाको लागि विभिन्न निकायसँग अनुरोध र छलफल गरेका छौं । छिट्टै यो समस्या समाधान गर्नेछौं ।’ रेक्चासँगै चौकुनेका अन्य डाँडाका बस्तीमा समेत पानीको अभाव विगतदेखि रहेको अध्यक्ष विकको भनाई छ ।

रेक्चा खानेपानी समस्या समाधान गर्न मन्त्रालयले पनि आवश्यक सहयोग र समन्वय गर्ने जलस्रोत तथा उर्जा विकास मन्त्रालय अन्तर्गतको खानेपानी निर्देशनालयका निर्देशक श्रीधर भट्टराई बताउनुभयो ।

‘निर्देशनालयबाट रेक्चा खानेपानीको समस्या समाधान गर्न हाम्रो ध्यानाकर्षण भइरहेको छ । पालिकासँग साझेदारी गरेर तत्काल नयाँ प्रोजेक्ट ल्याउने योजनामा छौं,’ निर्देशक भट्टराईले भन्नुभयो ।

नागरिकको शुद्ध खानेपानी पाउने अधिकारलाई संविधानले समेत रक्षा गरेकोले अहिलेको युगमा पनि पानी पिउन नपाउनु मानव अधिकारको गम्भीर उल्लङ्घन भएको राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख लोकनाथ बास्तोलाले बताउनभुयो ।

इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले रेक्चबासीको समस्या समाधान गर्न स्थानीयलाई कानुनी सहयोग गरेको भन्दै उनीहरूलाई पानी उपलब्ध गराउन स्थानीय, प्रदेश र संघ सरकारले गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो । वडा नम्बर ५ का वडा अध्यक्ष तुलाराम हुस्की मगरले खानेपानी समस्या समाधान गर्न सबैले एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

रेक्चा खानेपानी आयोजनामा काम गरिरहेका ठेकेदार रविन्द्र शाहीले सजिलो काम सकिएपनि केही अप्ठारा कामहरू बाँकी रहेकाले सरकारी निकायको सहयोग आवश्यक रहेको बताउनुभयो ।

उच्च अदालत, सुर्खेतका कायम मुकायम मुख्य न्यायाधीश माधवप्रसाद पोखरेल र न्यायाधीश पुनम सिह चन्दको संयुक्त इजलासले साउन ३२ गते रेक्चावासीलाई खानेपानी उपलब्ध गराउन परमादेश जारी गरेको थियो ।

अदालतले चौकुने गाउँपालिकालाई कर्तव्य निर्वाह गर्न दत्तचित्त भएर लाग्न र अन्य विपक्षी कार्यालयलाई कर्तव्य निर्वाह गर्न परमादेश जारी गर्दै खानेपानीको दीर्घकालीन रूपमा समाधान गर्न आदेश दिएको थियो ।

वर्षौंदेखि खानेपानीको अभाव भोग्दै आएका रेक्चाका स्थानीयको तर्फबाट बैशाख २७ गते दैनिक पानी पु¥याउने बन्दोबस्तको मागगर्दै अधिवक्ता प्रकाशबाबु ऐडी र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतका कार्यक्रम अधिकृत परिस्कृत पौडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र चौकुने गाउँपालिकाविरुद्ध उच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।
निवेदकद्वयले रेक्चाका नागरिकहरू न्यूनतम मानवीय आवश्यकताभित्र पर्ने स्वच्छ खानेपानीका लागि प्रताडित भइरहेको बताउँदै रेक्चाका ९० घरधूरीलाई तत्काल खानेपानी उपलब्ध गराउन अन्तरिम आदेश माग गर्नुभएको थियो ।

वैशाख २८ गते अदालतले रेक्चाका स्थानीयका लागि दैनिक न्यूनतम खानेपानी आपूर्ति गर्न के कस्तो प्रबन्ध गर्न सकिन्छ ? सो को विवरण प्राविधिक समेतको सहयोगमा तयार गरी लिखित जवाफ साथ प्रतिवेदन पठाउन चौकुने गाउँपालिकालाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

खडेरी लागेसँगै रेक्चाका स्थानीयलाई पानीको समस्या पर्ने गरेको छ । १२ महिना मध्ये असार, साउन र भदौ गरी यी तीन महिनामा मात्र त्यहाँका नागरिकहरूले पर्याप्त पानी पिउन पाउने गर्छन् ।

चौकुनेका रेक्चा, पुच्मा, नाउली, पग, तोलीसैन, नेटेकाँडा र धनरास लगायतका पहाडी ठाउँहरूका स्थानीयहरू पनि पानीको अभावमा जीविका चलाइरहेका छन् ।
Surkhetphoto20231012.... Surkhetphoto20231012.. Surkhetphoto20231012. Surkhetphoto20231012

 

अन्य

भिडियो