भरतपुर महानगरपालिका-७ की ६५ वर्षीया मनकुमारी वाग्लेको गरगहना लुटपाट गरी हत्या गरेको आरोपमा भरतपुर महानगरपालिका-२८, मेघौलीका ४३ वर्षीय तोयानाथ चापागाईलाई प्रहरीले ०८० असोज २२ गते बर्दघाट नगरपालिका-४, त्रिवेणीबाट गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०६१ मङ्सिर १४ गते हत्या गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । जिल्ला प्रहरी कार्यालयका डिएसपी विजयराज पण्डितले आरोपित साधुको भेषमा त्रिवेणी स्थित शिव मन्दिरमा बसिरहेको अवस्थामा भेटिएको बताउनु भयो ।
डिएसपी पण्डितले भन्नुभयो, ‘बाँसको लौरो र ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरेको र कानमा लगाएको गरगहना समेत लुटी घरको बाहिर ढोकामा साँचो लगाई भागी फरार भएको घटना मुचुल्कामा देखिन्छ ।’
शवको पोष्टमार्टम मङ्सिर १४ गते भरतपुर अस्पतालमा भयो । प्रहरीले आरोपित विरुद्ध ०८० असार २२ गते जिल्ला अदालतबाट पाँच दिनको लागि म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी पण्डितले इन्सेकलाई जानकारी दिनुभयो ।