नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिको लागि पहुँचयुक्त प्रणालीसम्बन्धी निर्देशिका, २०७८ जारी गरेको भएपनि निर्देशिका बमोजिम सरकारी भवन निर्माण नहुँदा अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा लिन समस्या भएको छ ।
जिल्लाका स्थानीय तहका भवनहरू अपाङ्गमैत्री नहुँदा सेवा लिन जाने अपाङ्गता भएका व्यक्तिहरू सोझै कार्यालयभित्र जानबाट वञ्चित हुुनु परेको छ ।
जिल्लामा तीन ओटा नगरपालिका र चार ओटा गाउँपालिका गरी सात ओटा स्थानीय तह छन् । ती सबै स्थानीय तहले आफ्ना प्रशासकीय भवन निर्माण गरिसकेका छन् ।
तर, नयाँ निर्माण गरिएका स्थायी तहका भवन अपाङ्गमैत्री भने छैनन् । स्थायी भवन भएका स्थानीय तहमा ह्विलचियर भित्रसम्म जाने संरचना निर्माण नहुँदा अपाङ्गता भएकाहरूलाई समस्या हुने गरेको छ ।
नयाँ बनेका संरचना पनि अपाङ्गमैत्री नबन्नु अपाङ्गताप्रतिको असंवेदनशीलता भएको अपाङ्ग सङ्घ, धनकुटाका सचिव सुमन बसेल बताउनु भयो । अपाङ्गता भएका व्यक्तिको समस्याप्रति स्थानीय तहका जिम्मेवार अधिकारीहरू सम्वेदनशील नभएको बसेलको आरोप छ ।
जिल्लाका धनकुटा नगरपालिका, पाख्रिबास नगरपालिका, छथर जोरपाटी गाउँपालिका, सहिदभूमि गाउँपालिका र साँगुरीगढी गाउँपालिकाले अपाङ्गमैत्री भन्दै प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कक्ष भुई तलामा राखेपनि माथिल्लो तलामा भने ह्विलचियर जान सक्दैनन् ।
चौविसे गाउँपालिका, महालक्ष्मी नगरपालिकामा प्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कक्षमा नै ह्विलचियर जान सक्ने अवस्था छैन । आर्थिक वर्ष ०७८-०७९ देखि सञ्चालनमा आएका भवन पनि अपाङ्गमैत्री नभएको अपाङ्ग सङ्घ, धनकुटाका सचिव सुमन बसेलको भनाइ छ ।
स्थानीय तहका प्रशासकीय भवन मात्र होइन नयाँ बनेका वडा कार्यालयका भवनसमेत अपाङ्गमैत्री छैनन् । धनकुटा नगरपालिकाले बनाएका वडा कार्यालयका नयाँ भवन अपाङ्गमैत्री नभएको पाइएको छ ।
धनकुटा नगरपालिकाले निर्माण गर्दै गरेको धनकुटा-४ र ५ को वडा कार्यालय अपाङ्गमैत्री नभएको अपाङ्ग सङ्घ केन्द्रीय सदस्य यमबहादुर बस्नेतले बताउनु भयो । जिल्लाका स्थानीय तहले वडा कार्यालयका भवन बनाइ सकेको भएपनि अपाङ्गमैत्री नभएको केन्द्रीय सदस्य बस्नेतको भनाइ छ ।
पाख्रिबास नगरपालिका प्रमुख ज्ञानबहादुर गुरुङले भवन बनाउने बेलामा सो कुराको ख्याल नगरिएको बताउनु भयो । अपाङ्गता भएकाहरूले आफूसँग भेट गर्न सकुन् भनेर आफू भवनको सबैभन्दा तल्लो तलामा बस्ने गरेको गुरुङको भनाइ छ ।
ठूला-ठूला भवन बन्दा पनि ह्विलचियर जान नसक्ने तथा भेट्नु पर्ने कर्मचारीहरू तीन-चार तला माथि बस्दा त्यहाँसम्म पुग्न ज्येष्ठ नागरिकलाई समस्या भएको ज्येष्ठ नागरिक सङ्घ, धनकुटा नगर अध्यक्ष टीकाप्रसाद घिमिरेको भनाइ छ ।
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धी, नेपालको संविधान २०७२, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ र राज्यका अन्य प्रचलित कानुनद्धारा प्रदत्त नागरिक तथा राजनीतिक अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलगायतका अधिकार र सुविधा उपयोग गर्न सरकारले अपाङ्गता भएका व्यक्तिको लागि पहुँचयुक्त प्रणालीसम्बन्धी निर्देशिका, २०७८ जारी गरेको भएपनि त्यसको कार्यान्वयन नहुँदा अपाङ्गता भएकाहरूलाई समस्या हुने गरेको छ ।