गोलबजार नगरपालिका–१ माइती घर भएकी २४ वर्षीया देविका सदायको प्रेम विवाह भएको दुई वर्ष पछि २५ वर्षीय पति विजय महतो र उनको परिवारले घरमा राख्न अस्वीकार गरेका छन् ।
मिर्चैया नगरपालिका–९ का २५ वर्षीय विजय महतोसँग दुई वर्ष अघि प्रेमविवाह गरेको र अहिले पति विजयले “मेरो घर परिवारले तिमिलाई बुहारी मान्न तयार नभएकोले म घर परिवारको खुशीको लागि अर्काे विवाह गर्ने” भन्दै अस्वीकार गरेको पीडित देविकाले बताउनु भयो ।
आरोपितले “मसँग विवाह गरी मलाई कर्जन्हा नगरपालिका स्थित बन्दिपुरमा कोठा भाडामा लिई सँगै राखेको थियो । यहाँको कमाइले हामीलाई खान बस्न अप्ठयारो हुन्छ, त्यसैले म विदेशबाट कमाएर आउछु अनी घर बनाएर सँगै बसुला भनि धनगढी नगरपालिका–१२ सिमलटोकीमा ऐलानी जग्गामा घर बनाई मलाई राखी आफू कमाउन कतार गएको” पीडितले बताउनु भयो ।
उहाँले “हाम्रो राम्रै कुराकानी हुन्थ्यो, प्रत्येक महिना पैसा पनि पठाउनु हुन्थ्यो । तर, एक हफ्ता अगाडि कतारबाट आउनु भयो र मलाई उहाँको घर परिवारले बुहारी नमान्ने भएकोले मलाई छोडी देउँ, म अर्काे विवाह गर्छु भनि सम्पर्क बिहिन भएपछि इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८० असोज १४ गते निवेदन दिएको” जानकारी दिनु भयो ।
पीडित र आरोपित पक्षलाई छलफलको लागि असोज १७ गते बोलाएको तर, छलफल विना निष्कर्ष टुङ्गिएको हुनाले असोज २२ गते पीडित देवकीको पति विजयसमेत उपस्थित गरेर पुनः छलफल गर्ने निर्णय भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले बताउनु भयो । छलफलबाट कुरा नमिले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने डिएसपी बस्नेतले बताउनु भयो ।
आरोपित विजय महतोको बुबा जग्दिश महतोले छोराले गल्ती गरे पनि हाम्रो समाजले जातपात मान्ने भएकोले देवकी सदायलाई बुहारी स्वीकार गर्न नसकिने बताउनु भयो ।