आफ्ना पति चेतन मानन्धरको हत्यामा अदालतबाट जन्मकैदको फैसला सुनाइएका योगराज ढकाल (रिगल) को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय खारेज हुनुपर्ने माग गर्दै नेपालगञ्जकी भारती मानन्धर ०८० असोज १७ गतेदेखि माइतीघर मण्डलामा रिले अनशनमा बस्नुभएको छ । ०७२ असार २८ गते नेपालगञ्जमा हत्या गरिएका चेतन मानन्धरको हत्या अभियोगमा बाँके जिल्ला अदालतबाट जन्मकैदको सजाय तोकिएका योगराज ढकाललाई मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ०८० असोज ३ गते संविधान दिवसका अवसरमा आममाफी दिनुभएको थियो ।
तत्कालिन समयमा तरुण दल बाँकेको क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति रहेका ढकालले भारतबाट सञ्चालन हुने बसहरूबाट गरिने अवैध हप्ता असुलीमा व्यवधान गरेको भन्दै ०७२ असार २८ मा अपराह्न ३ बजे चेतन मानन्धरलाई नियन्त्रणमा लिएर नेपालगञ्जको सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेका थिए । हत्यापछि फरार रिगलले ०७२ भदौ ७ गते बाँके जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।
चेतनको हत्या अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले ०७५ वैशाख ११ मा योगराज ढकाललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । त्यस घटनामा छविलाल बस्नेत, प्रशान्त भन्ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैद, सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र मल्ललाई पाँच वर्ष तथा हरि वली, यामबहादुर बुढामगर, मनीष चौलागाईं, विवाद पाठक, केशव रोकाय, माधव परियार, प्रीतम थापालाई ३/३ वर्ष कैद सजाय सुनाएको थियो ।
ढकाललाई उन्मुक्ति दिन कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय र कैद मिनाह गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको आदेशलाई उल्ट्याइपाउँ भन्दै भारतीले ०८० असोज १४ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको थियो । उक्त रिट निवेदनमा असोज १६ र १७ गते पेशी परे पनि हेर्न नभ्याउने भन्दै सुनुवाइ भएको छैन ।
