INSEC Online

📅 २०८३ जेष्ठ २१

धार्मिक एवम् सामाजिक सद्भाव कायम गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो समय मुलुकमा विभिन्न सम्प्रदाय बिचको सुसम्बन्धमा खलल पुग्ने गतिविधिहरू बढेको भन्दै धार्मिक एवम् सामाजिक सद्भाव कायम गर्न आयोगको आग्रह गरेको छ । आयोगले ०८० असोज १७ गते विज्ञप्ति जारी गर्दै बाँकेको नेपालगञ्जमा ०८० असोज १६ गते र्‍याली निकाल्ने क्रममा हिन्दु र मुस्लिम समुदायबिच विवाद सिर्जना भई सार्वजनिक सम्पत्ति तोडफोड, ढुङ्गामुडा प्रहार र उच्छृङ्खल गतिविधिहरूका कारण केही स्थानमा झडप हुँदा पाँच जना सुरक्षाकर्मीसहित २२ जना व्यक्ति घाइते भएको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगले नेपालगञ्जमा भएको घटनाका सम्बन्धमा आयोगको नेपालगञ्ज कार्यालयले स्थलगत अनुगमन गर्नुका साथै सरोकारवाला निकायसँग सम्पर्क गरी जानकारी लिइरहेको जनाएको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही दिनअघि सामाजिक सञ्जालमा भएका टिप्पणी र प्रतिक्रियाको विषयलाई लिएर असोज १४ गते मुस्लिम समुदायबाट जिल्ला प्रशासन कार्यालय परिसरमा टायर बालेर प्रदर्शन गरिएको, यसको विरोधमा ओमकार समाज र शिव सेनासहितका केही हिन्दु समर्थकहरूले असोज १६ गते नेपालगञ्ज उपमहानगरपालिका बन्दको आव्हन गर्दै बिहान १० बजेदेखि प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक भएकोमा जिल्ला प्रशासन कार्यालय, बाँकेमा असामान्य अवस्थालाई सम्बोधन गर्नका लागि असोज १५ गते सर्वदलीय बैठक बसेको, बैठकको निर्णय बमोजिम असोज १६ गते विहान ७ बजे सद्भाव र्‍याली निकालिएको र सोही दिन विहान ओमकार समाजसहितका हिन्दु समर्थकहरूको प्रदर्शनको क्रममा ढुङ्गामुडा प्रहार भएपश्चात दुई समूह बिच दोहोरो झडप भएकोले अवस्थालाई थप हिंसात्मक हुन नदिन नेपालगञ्ज उपमहानगरपालिका भित्र जिल्ला प्रशासन कार्यालयद्वारा असोज १६ गतेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको जानकारी प्राप्त भएको छ ।’

आयोगले झडपको क्रममा घाइते भएका २१ जना उपचारपश्चात् घर फर्किएका र एक जना सर्वसाधारणको भेरी अस्पतालमा उपचार भइरहेको देखिएको उल्लेख गरेको छ । आयोगले घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न, घाइतेको उपचारको व्यवस्था गर्न पनि माग गरेको छ ।

आयोगले नेपालको संविधानको प्रस्तावनामा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बिचको एकता, सामाजिक, साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्धन गर्ने उल्लेख गरिएको साथै संयुक्त राष्ट्रसङ्घको बडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष राष्ट्र भएका महासन्धिका व्यवस्थाहरूलाई समेत आत्मसात गर्दै सामाजिक सद्भाव कायम गर्नु, गराउनु सबैको कर्तव्य हुने कुरा पनि स्मरण गराएको छ ।

त्यस्तै आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा अरुको अधिकारप्रति सचेत हुन, मर्यादित रूपमा सामाजिक सञ्जालको प्रयोग गर्न पनि सरोकारवालालाई आग्रह गरेको छ ।

अन्य

भिडियो