
वीरगंज महानगरपालिका–४ विर्तास्थित बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण ०८० असोज १२ गते बिहान दुई जना बालकहरू फरार भएका छन् ।
बालसुधार गृहको छतमाथिबाट हाम फालेर ती बालकहरू फरार भएका हुन् । फरार भएका बालकहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमार विक्रम थापाले बताउनु भयो । उहाँले भन्नु भयो, “आज बिहान उनीहरू छतमाथिबाट छत माथिको तारजाली काटेर हाम फालेर फरार भएका हुन् । खोजी कार्य भइरहेको छ ।”
फरार भएकाहरूमध्ये एक जना कर्तव्य ज्यान र अर्का एक जना जबरजस्ती करणी मुद्दामा बाल सुधार गृहमामा राखिएको थियो ।
भक्तपुर बाल सुधार गृहबाट वीरगंज बाल सुधार गृहमा ल्याइएका बालक र यहाँ पहिल्यैदेखि बस्दै आएकाहरूबिच भदौ २६ गते मात्रै झडप भएको थियो । झडपमा दुई जना प्रहरीसहित १३ जना घाइते समेत भएका थिए । झडप पश्चात् भक्तपुरको सुधार गृहबाट ल्याइएका मध्येका १५ जना बालकहरूलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा राखिएको छ ।
झडप हुनु भन्दा पहिला सुधार गृहमा असईको नेतृत्वमा सादा पोशाकका सात जना प्रहरीहरू खटाइएको थियो भने हाल नौ जना प्रहरीलाई खटाइएको छ । तरपनि दिन मै बालकहरू भाग्न सफल हुनुमा व्यवस्थापन पक्षको लापरबाही देखिएको छ ।
सुधार गृहको कमजोर व्यवस्थापना र भौतिक संरचना पनि प्रयाप्त नहुँदा बालकहरूलाई भाग्न सहज भएको देखिएको छ । हाल ६० जना बस्ने क्षमता रहेको बाल सुधार गृहमा १ सय २६ जनालाई राखिएको छ ।
१०/११ को सांघुरो एउटा कोठामा १४/१५ जना बालबालिकाहरू बस्नु पर्ने बाध्यता रहेको छ । एउटा कोठामा खाटमाथि खाट राखेर बालबालिकाहरूलाई बस्न लगाइएको छ ।
ढेड कठा क्षेत्रफलमा बनाइएको बाल सुधार गृहमा नौ ओटा मात्र बालबालिकाहरू बस्ने कोठा छन् । अरु कोठाहरूमा कार्यालय संचालन गरिएको छ । सुधार गृहमा घुमफिर गर्ने खालि ठाउँ र खेल मैदान पनि छैन् । गर्मी मौसममा बिजुली कट्दा वैकलपिक बत्तिको व्यवस्था पनि छैन् । फरार हुने दुबै १७ बर्षिय बालबालिका हुन् ।
