INSEC Online

📅 २०८३ जेष्ठ २१

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेर फरार रहेका श्रेष्ठ गिरफ्तार

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेर फरार रहेका २६ वर्षीय सयुस श्रेष्ठलाई प्रहरीले तीन वर्षपछि गिरफ्तार गरेको छ ।

उपप्राध्यापक चलाउनेले आफूमाथि आक्रमण गर्ने विरुद्ध दायर गरेको मुद्दामा ०७७ फागुन १३ गते उच्च अदालत पाटनले माग गरेको पाँच लाख धरौटी र एक लाख रुपियाँ क्षतिपुर्ति असुल गर्ने आदेश अवज्ञा गरेर फरार भएका श्रेष्ठलाई प्रहरीले ०८० असोज ११ गते रातोपुलबाट गिरफ्तार गरेको हो ।

त्रिविका समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि ०७७ असोज २० गते नेविसङ्घका तत्कालिन त्रिवि इकाई अध्यक्ष हरि आचार्य, योगेन्द्र रावल, रुपेश शाह, सयुस श्रेष्ठ, निरज लामा लगायत सात जनाले फलामको रड प्रहार गर्दै निर्घात कुटपिट गरेका थिए । उक्त कुटपिटबाट चलाउनेको टाउकोमा चोट लाग्नुको साथै दायाँ खुट्टा भाँचिएको थियो ।

आक्रमणमा संलग्न हरि आचार्य, योगेन्द्र रावललगायत सात जना विरुद्ध प्रहरीले ०७७ कात्तिक २० गते जिल्ला अदालत काठमाडौँमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा ०७७ कात्तिक २३ गतेदेखि कत्तिक २६ गतेको बीचमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले मुख्य दुई जना अभियुक्त हरि आचार्य र योगेन्द्र रावललाई जनही ५५ हजार तथा अन्यलाई जनही ३०, ३५, ५० हजार रुपियाँ धरौटीमा छोड्न आदेश दिएको थियो । तर जिल्ला अदालतको उक्त आदेश बदरको मागसहित उच्च अदालत पाटनमा उपप्राध्यापक चलाउनेले निवेदन दर्ता गर्नुभएको थियो ।

उपप्राध्यापक चलाउनेले दर्ता गर्नुभएको निवेदनमा उच्च अदालत पाटनले प्रत्येक प्रतिवादीहरूसँग जनही पाँच लाख रुपियाँ धरौटी माग्ने र पीडित उपप्राध्यापक चलाउनेलाई एक लाख रुपियाँ अन्तरिम क्षतिपुर्ति बुझाउनु पर्ने आदेश गरेको थियो । ०८० असोज ११ गते गिरफ्तारीमा परेका श्रेष्ठ उच्च अदालत पाटनले गरेको धरौटी र क्षतिपुर्ति नतिरिकन फरार रहेका थिए । फरार रहेका श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको हो ।

उपप्राध्यापक प्रेम चलाउनेमाथि ०७७ असोज २० गते आरोपितहरूले आक्रमण गरेको आरोपमा हाल जिल्ला अदालत, काठमाडौँमा ज्यान मार्ने उद्योगमा मुद्दा चलिरेहेको छ ।

अन्य

भिडियो