INSEC Online

📅 २०८३ जेष्ठ २१

रेडियो बुढीनन्दा र पत्रकार सर्पलाल माथि काँग्रेस कार्यकर्ताको आक्रमण

बुढीनन्दा नगरपालीका २ मा रहेको रेडियो बुढीनन्दा र रेडियोका अध्यक्ष सर्पलाल गिरी माथि नेपाली काँग्रेस समर्थक कार्यकर्ताद्वारा मिति ०७४ असार ३० गते रात्री आक्रमण भएको छ । पत्रकार कुट्ने समय आएको भन्दै सात आठ जनाको समूह रहेका काँग्रेस कार्यकर्ताले रेडियो माथि ढुंगा प्रहार गरि आक्रमण गरेका हुन् ।

शुक्रबार राती मदिरा सेवन गरेका गोकर्ण गिरी लगायतका काँग्रेस समर्थक कार्यकर्ताले सर्पलाल गिरीलाई आजै सिध्याउनु पर्छ, भन्दै गाली बेइज्जती गरेको र साँझ रेडियो माथि नै ढुंगा मुढा गरेको पीडित पत्रकार गिरीले बताए ।

गिरी रेडियो बुढीनन्दाका अध्यक्ष एवं पत्रकार महासंघका पूर्व सचिव हुन् । काँग्रेसले जितिसक्यो, पत्रकार कुट्ने जमाना आएको छ, सर्पलाल गिरीलाई मार्नै पर्छ भनेर खोज्दै आएको प्रत्यक्ष दर्शीले बताएका छन् ।

आक्रमणमा बुढीनन्दा नगरपालिका मेयरका आफन्त गोकर्ण गिरी, वीरेन्द रोकाया, इन्द्र रोकाया र नरेन्द्र शाही लगायतको संलग्नता रहेको गिरीले दिएको प्रहरी उजुरीमा उल्लेख गरिएको छ ।

आक्रमण गर्ने टिमले गिरीलाई बीच बाटोमै नभेटे पछि रेडियो मै गएर ढुंगा प्रहार गरेका हुन् । रेडियो सञ्चालनमा रहेकै अवस्थामा राती आक्रमण गरेको रेडियोका स्टेशन म्यानेजर नहकुल जोशीले बताए ।

पत्रकार भएर घमण्ड गर्ने, काँग्रेसले जितेको ठाउँ हो, कसैको केही चल्दैन, सर्पलाल गिरीलाई मार्नै पर्छ, भन्दै आक्रमण गर्न आएपनि भाग्न सफल भएको गिरीले बताए । जिल्लामा पछिल्लो पटक पत्रकार माथिको आक्रमणको श्रृखला बढेको छ । तीन दिन पहिले मात्र पत्रकार छक्क मल्ल माथि आक्रमण भएको थियो ।

यता जिल्ला प्रहरी कार्यालयले भने आफूलाई कुनै जानकारी नभएको बताए । प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले जानकारी नभएको बताए । कोल्टी प्रहरीले भर्खर उजुरी आएकोले संलग्नको खोजी कार्य जारी रहेको बताएको छ ।

अन्य

भिडियो