INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीसँग झडप हुँदा ११ जना राहत शिक्षक घाइते

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै आन्दोलनरत राहत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमामा झडप हुँदा ११ जना घाइते भएका छन् । नौ दिनदेखि अन्दोलतरत राहत शिक्षकहरूले माइतीघर – नयाँ बानेश्वर सडकको मुख्य लेनमा बसेर आन्दोलन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो ।

प्रहरीसँगको झडपमा परी घाइते हुनेहरूमा पर्साकी ४५ वर्षीया सन्दिपा खत्री, पर्वतकी ३८ वर्षीया शर्मिला पुरी, रुकुम पश्चिमकी ३७ वर्षिया निर्मला वली, ताप्लेजुङका ५० वर्षीय रमेश प्याकुरेल, अछामकी ३३ वर्षीया रेजिना कुँवर, पर्वतकी ४४ वर्षीया शर्मिला पौड्याल, अछामका ५२ वर्षीय नन्द बहादुर खड्का, अछामकी ४२ वर्षीया जानुका कुँवर, मकवानपुरकी ४८ वर्षीया गिता कार्की, दैलेखका ३५ वर्षीय दुर्गा प्रसाद पोखरेल, बझाङका ४४ वर्षीय लक्षेनु बहादुर दर्जी रहेका छन् ।

झडपमा घाइते भएकी खत्रीको दायाँ खुट्टा भाँचिएको छ भने प्याकुरेलको बायाँ खुट्टामा प्लास्टर गरिएको छ । खत्रीलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षमा भर्ना गरिएको छ । झडपमा घाइते भएका अन्य शिक्षकहर नयाँ बानेश्वरको एभरेष्ट अस्पताल र वीर अस्पतालमा उपचारपश्चात डिस्चार्ज भएका छन् ।

घटनाबारे इन्सेकलाई प्रतिक्रिया दिँदै नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले शान्तिपूर्ण रूपमा आफ्ना माग राखिरहेका राहत शिक्षकमाथि प्रहरीबाट दमन हुनु दुर्भाग्य भएको बताउनु भयो । उहाँले सरकारले राहत शिक्षकमाथि प्रहरी लगाएर दमन गर्न खोजेको भन्दै अब झन् सशक्त ढङ्गले आन्दोलनका कार्यक्रम अगाडी बढाउने उल्लेख गर्नुभयो ।

Photo_080-6-10_Kathmandu

Photo_080-6-10_Kathmandu2

अन्य

भिडियो