INSEC Online

📅 २०८३ जेष्ठ २१

नौ दिनदेखि धर्नामा बसेका अभियन्ता ईः को स्वास्थ्यप्रति संवेदनशील बन्न आयोगको आग्रह

फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित नौ दिनदेखि काठमाडौँ महानगरपालिका मेयरको कार्यालय अगाडि धर्नामा बसिरहनुभएका अभियन्ता (ईशान अधिकारी) ईः को स्वास्थ्यप्रति संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १० गते विज्ञप्ति जारी गर्दै वार्ताको माध्यमबाट यथाशीघ्र समस्याको समाधान गरी धर्नामा बसेका ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न सरोकारवालालाई आग्रह गर्नुभएको हो ।

आयोगका सदस्य लिली थापा नेतृत्वको उच्चस्तरीय टोलीले असोज ९ गते ईः ले धर्ना बस्नुभएको ठाउँमा अनुगमन गर्दै उहाँको स्वास्थ्य अवस्था र मागबारे जानकारी लिएको थियो ।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साना सडक व्यवसायीलाई विकल्प सहित व्यवस्थापन गर्न माग गर्दै विगत आठ दिनदेखि काठमाडौँ महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । रातिको १२ बजेदेखि ५ बजेसम्म कुर्चीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेको, विगत आठ दिनदेखि उभिएर धर्ना गरिरहेका ईः का दुबै खुट्टा अस्वाभाविक रुपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाहबमोजिम असोज ८ गतेदेखि औषधि सेवन गरिरहेको र महानगरपालिकाबाट ईः र उहाँका समर्थकहरूले उठाएका विषयलाई संवेदनशील रूपमा नलिएको जानकारीहरू अनुगमनबाट पाइएको छ ।’

अभियन्ता ‘ईः’ले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नु पर्ने माग मानव अधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको जनाउँदै आयोगले नेपालको संविधानको धारा १७ (च) मा नेपालको कुनै पनि भूभागमा पेशा, रोजगारी गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रताको उल्लेख गरेको र संविधानको धारा ३३ मा रोजगारीको हकको उल्लेख गरिएको व्यहोरा पनि स्मरण गराएको छ ।

आयोगले धर्नामा रहेका व्यक्ति ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरूको पहिचान गरी उनीहरूलाई पेसा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न नेपाल सरकार र काठमाडौँ महानगरपालिकालाई आग्रह समेत गरेको छ ।

अन्य

भिडियो