चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ बजेट विनियोजन नगर्दा स्वास्थ्य संस्थामा औषधि अभाव देखिएको छ ।
चन्दननाथ नगरपालिका भित्रका १० ओटामा एक बर्थिङसहित तीन ओटा स्वास्थ्य चौकी र एक ओटा सहरी स्वास्थ्य केन्द्र र पाँच ओटा आधारभुत स्वास्थ्य सेवा केन्द्र रहेका छन् । यिनै स्वास्थ्य संस्थामा औषधि अभाव देखिएको हो ।
चालु आर्थिक वर्षको बजेट विनियोजन नहुँदा समयमा औषधि खरिद नसकेर स्वास्थ्य संस्थामा औषधि अभाव देखिएको हो ।
स्वास्थ्य संस्थामा जिंक, आइरन, पारा सिटामोल औषधि अभाव रहेको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताउनु भयो । उहाँले भन्नुभयो ‘स्वास्थ्य संस्थाबाट औषधिका माग फाराम आएका छन् । तर औषधि खरिद नभएको हुँदा स्वास्थ्य संस्थामा औषधि पठाउन सकिएको छैन । यसको प्रमुख समस्या समयमा बजेट विनियोजन नभएका कारणले औषधि समय खरिद भएको छैन ।’
स्वास्थ्य संस्था सञ्चालन गर्न समस्या भएको छ । साउन देखि यता ६ जना स्वास्थ्य संस्थामा प्रसुति भएका छन् । उनीहरुलाई यातायात भत्ता तीन हजार, प्रोटोकल अनुसार गर्भ चेकजाँच गरेबापत ८ सय र पोषण भत्ता दुई हजार गरी एक जनालाई पाँच हजार ८ सय रुपियाँ दिनुपर्ने हो । तर यो रकम पनि सुत्केरी महिलाले प्राप्त गर्न नसकेको जनस्वास्थ्य निरीक्षक महतले बताउनु भयो ।
उहाँले भन्नुभयो ‘दुई महिनादेखि कर्मचारीले तलब भत्ता पनि पाएका छैनन् । बच्चा र गर्भवती महिलालाई लिटोपिठो वितरण कार्यक्रम छ । नगरपालिकाले बजेट विनियोजन नगर्दा लिटोपिठो ढुवानीमा पनि समस्या भएको छ । ’
चन्दननाथ नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईले दुई महिनादेखि विद्यालयको दिवा खाजाको रकम पठाउन सकिएको छैन । उहाँले भन्नुभयो ‘विद्यालयमा दैनिक उपभोग हुने दिवा खाजाको माग आएको छ । तर रकम पठाउन सकिएको छैन । यस्तै विद्यालयमा पठाउने शैक्षिक सामग्री, ह्रवाईड बोड मार्कर पनि पठाउन सकिएको छैन । शिक्षा शाखाको बजेट कति विनियोजन भएको हो । अहिलेसम्म जानकारी छैन । ’
यस्तै गरी , महिला तथा बालबालिका शाखा, कृषि शाखा, पशु शाखा, शिक्षा तथा खेलकुद शाखा, स्वास्थ्य शाखा, विपद् व्यवस्थापन शाखा छन् । समयमा बजेट विनियोजन नहुदाँ यिनै सबै शाखाका पहिलो चौमासिक कार्यक्रम प्रभावित भएका छन् । शाखाका कर्मचारीलाई आफ्नो शाखाको कति बजेट छ भन्ने पनि जानकारी छैन । अन्यौलको अवस्था रहको छ ।
चन्दननाथ नगरपालिकाले असार १० गते ५५ करोड १० लाख ८० हजार बजेट ल्याएको हो । समयमै ल्याएको चालु आर्थिक वर्षको बजेट असोजको पहिलो सातासम्म पनि डल्लो बजेट रहेको कर्मचारीले बताउने गरेका छन् । त्यो डल्लो बजेट अहिलेसम्म विनियोजन भएको छैन । समयमा बजेट विनियोजन नहुदा कुन कार्यक्रम र कुन शाखालाई कति बजेट भन्ने विषयमा कर्मचारी अन्यौलमा परेका छन् । जसका कारण सेवा प्रवाहमा समस्या देखिएको छ ।
नगरप्रमुख राजुसिंह कठायतले बजेट सबै विनियोजन भएको बताउनु भयो । उहाँले भन्नु ‘केही बजेट मात्रै विनियोजन गर्न बाँकी छ । तर प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि काठमाडौँ रहेका हुनाले नयाँ आर्थिक वर्षको खाता सञ्चालन भएन । खाता सञ्चालन नहुदा समस्या भएको हो । अब असोज ४ गते नयाँ प्रमुख प्रशासकीय अधिकृत आउदै छन् । सामान्य प्रशासन मन्त्रालयबाट रमना लिइसक्नु भएको छ । प्रमुख आउने वित्तिकै नयाँ खाता सञ्चालन हुन्छ । अनि नगरपालिकाका सबै क्रियाकलाप सञ्चालनमा आउने छन् । ’
