संविधानका धारा ३६ को उपधारा ३ मा प्रत्येक नागरिकलाई खाद्य सम्प्रभूताको हक हुनेछ भन्ने व्यवस्था गरिएको छ ।
तर जिल्लामा निर्माण सम्पन्न भएको वायर हाउस(चिस्यान केन्द्र) सञ्चालन नहुँदा कृषकहरूले उत्पादन गरेका तरकारी तथा फलफूलहरु कुहिएर नष्ट हुने गरेको छ ।
धनकुटा नगरपालिका-१ हिलेमा निर्माण सम्पन्न भएको वायर हाउस सञ्चालनमा नआउँदा त्यस क्षेत्रका कृषकहरूले उत्पादन गरेका कृषिजन्य उत्पादन कुहिएर जाने गरेको छ ।
वायर हाउस सञ्चालनमा नआउँदा किसान तथा किसान समूहले उत्पादन गरेका अलैँची, तरकारी, बीउ, फलफूललगायतका कृषिजन्यवस्तुहरु भण्डारण गर्न नपाउँदा समस्या भएको धनकुटा नगरपालिका-१ का ५४ वर्षीय कृषक मानबहादुर तामाङले गुनासो गर्नुभयो ।
मौसम अनुसार उत्पादन गरेका कृषिजन्य वस्तुलाई वेमौसमी समयमा विक्रीवितरण गर्न र बजारमा विक्री हुन नसकेका तरकारी तथा फलफूलहरुलाई भण्डारण गर्ने वायर हाउस सञ्चालन नहुँदा धनकुटा नगरपालिका-१ सहित आसपासका क्षेत्रका कृषकहरूले मासिक ४० लाख रुपियाँ बराबरको तरकारी तथा फलफूलहरू नष्ट गर्न बाध्य तामाङ्गले बताउनु भयो ।
धनकुटा अलैची व्यवसायी महासङ्घका अध्यक्ष लाखमान तामाङले किसानले उत्पादन गरेका कृषिजन्य वस्तुहरूको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणा अनुरुप वायर हाउस सम्पन्न भएपनि सञ्चालनमा नआउँदा आफूहरूले उत्पादन गरेको अलैची, तरकारी तथा फलफूल कुहिँएर जाने गरेको बताउनु भयो ।
वायर हाउसमा सञ्चालनमा नआउँदा यहाँका उपभोक्ताहरुले अन्य जिल्लाबाट आयात गरिएको किसानहरुले उत्पादन गरेको तरकारी सस्तो मूल्यमा बेच्नु पर्ने बाध्यता रहेको स्थानीय किसान तामाङले बताउनु भयो ।
असारमा प्रतिकिलो पाँच रुपैयाँमा विक्री भएको टमाटर अहिले प्रतिकिलोे २ सय ५० रुपियाँसम्ममा स्थानीयहरु किन्न बाध्य भएको किसानको भनाइ छ ।
वायर हाउसमा स्टक भएको भए अहिले किसानले राम्रो मूल्यमा बेच्न पाउने किसन तामाङ्गले बताउनु भयो ।
डेनमार्क सरकारको सहयोगमा र उद्योग वाणिज्य सङ्घ धनकुटा तथा नेपाल अलैची व्यवसायी महासंघ धनकुटाको ३ करोड १४ लाख लागतमा वायर हाउस निर्माण गरिएको हो ।
१० टन भण्डार क्षमताको वायर हाउस ०७५ सालमा निर्माण सम्पन्न भएपनि सञ्चालनमा नआउँदा प्रयोगहीन भएको छ ।
वायर हाउस सञ्चालनका लागि शेयरमार्फत गरिने बताइए पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन । उत्पादित वस्तु भण्डारणस्थलको अभाव भएकाले निर्माण गरिएको वायर हाउस सञ्चालन नहुँदा कृषकहरूले आर्थिक हानी व्योर्होनु परेको छ ।
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले नगर क्षेत्रका कृषकहरूले उत्पादन गरेका अलैंची, तरकारी तथा फलफूल भण्डारणमा सहजता ल्याउने उद्देश्यले निर्माण भएको वायर हाउस सञ्चालनमा ल्याउन पहल गरिरहेको र चाँडै सञ्चालनमा आउने बताउनु भएको छ ।