काठमाडौँ महानगरपालिका-३२, तीनकुनेस्थित श्री दिव्य सः मिल तथा काष्ठ उद्योगमा ०८० भदौ २९ गते भएको सामूहिक हत्याकाण्डमा संलग्न आरोपितलाई प्रहरीले ०८० भदौ ३१ गते गिरफ्तार गरेको छ । प्रहरी गिरफ्तारीमा पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ घर भइ हाल काँडाघारी विरेन्द्र चोक बस्दै आएका २३ वर्षीय सञ्जय भण्डारी रहेका छन् ।
तिनकुनेस्थित दिव्य सः मिलमा ०८० भदौ २९ गते एकै परिवारका तीन जना सहित चार जनाको धारिलो हतियार प्रहार गरी सामूहिक हत्या भएको अवस्थामा शव फेला परेको थियो । मृत्यु हुनेहरूमा दोलखा घर भइ मिलमा काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उहाँकी पत्नी ५२ वर्षीया शुभद्र वाइवा, आमा ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई रहेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोद ढुङ्गेलका अनुसार हत्या आरोपमा प्रहरी गिरफ्तारीमा परेका भण्डारीलाई मृतक नवीन राईले चलाएको मोटरसाइकल कापहिले राईले चलाएको मोटरसाइकलले भण्डारीलाई ठक्कर दिएको थियो र राईले भण्डारीलाई कुटपिट समेत गरेका थिए । आफूमाथि कुटपिट गरेको सोही रिसिबी साँध्नका लागि आरोपित भण्डारीले भदौ २९ गते पहिले नविन राईको हत्या गरेको र उक्त घटना बाहिर आउने डरले घटनास्थलमा रहेका अन्य तीन जनाको समेत हत्या गरेको लिखित रुपमा स्वीकार गरेको एसपी ढुङ्गेलले जानकारी दिनुभयो ।
प्रहरी गिरफ्तारीमा परेका आरोपित जन्मजात रुपमा बोल्न नसक्ने रहेको र आरोपितमाथि प्रहरीले साङ्केतिक भाषाविज्ञ झिकाएर थप अनुसन्धान सुरु गरेको एसपी ढुङ्गेलले बताउनु भयो ।
आरोपित भण्डारीले आफूले चारै जनाको हत्या गरेको स्वीकार गरेपछि प्रहरीले भदौ ३० गते हत्या आशङ्कामा गिरफ्तार गरेका काठमाडौँ महानगरपालिका-३२ बस्दै आएका २८ वर्षीय दीपेन्द्र राईललाई भदौ ३१ गते रिहा गरेको छ ।