INSEC Online

📅 २०८३ जेष्ठ २१

डाक्टर कुटपिट घटनाका आरोपितहरू गिरफ्तार

हेटौँडा उपमहानगरपालिका-१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत ३३ वर्षीय डा. प्रसान्त बिडारी र ३७ वर्षीय डा. विकास थापामाथि अस्पतालमा ड्युटीमा खटिरहेको बेला कुटपिट गरेको आरोपमा हेटौँडा उपमहानगरपालिका-१२, पदमपोखरीकी ३९ वर्षीया रिता प्रधान, २१ वर्षीया रमिता प्रधान, २३ वर्षीय रोहित प्रधान र २५ वर्षीय अनुप प्रधानलाई प्रहरीले ०८० भदौ २८ गते गिरफ्तार गरेको छ ।

डेङ्गु सङ्क्रमणको कारण ०८० साउन २५ गते मृत्यु भएका हेटौँडा उपमहानगरपालिका-१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको आरोप लगाउँदै उहाँका आफन्त सहितको केही युवाको समूहले भदौ २७ गते अस्पताल भित्रै प्रवेश गरी चिकित्सकहरूमाथि साङ्घातिक आक्रमण गरी कुटपिट गरेका थिए ।

सीसीटीभी फुटेजको आधारमा चिकित्सकहरूमाथि आक्रमण गर्ने मृतककी पत्नी रिता प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अनुप प्रधानलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले बताउनु भयो ।

घटनाका आरोपितहरूको खोजी गरी आवश्यक कारबाही गरिपाउँ भन्दै पीडित पक्षले भदौ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

कुटपिटबाट डा. बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने डा. थापाको गाला र अनुहार सुनिएको छ । उक्त घटनाको विषयमा छानबिन तथा खोजी भइरहेको  डिएसपी भण्डारीले जानकारी दिनुभयो ।

अन्य

भिडियो