INSEC Online

📅 २०८३ जेष्ठ २१

एन्टी रेविज भ्याक्सिनको अभावमा सेवाग्राहीहरु समस्यामा

province hospital

प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक कक्षको आरभी (एन्टी रेविज भ्याक्सिन) शाखामा ०८० भदौ ११ गते देखि एन्टी रेविज भ्याक्सिनको तेश्रो डोज नहुँदा सेवाग्राहीहरू त्यसै फर्किनु पर्ने बाध्यता रहेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टी का ५६ वर्षीय विश्वनाथलाई भदौ १४ गते खेत जाँदै गर्दा झाडीमा लुकेर बसिरहेको कुकुरले बायाँ खुट्टामा टोकेको थियो । भ्याक्सिनको लागी भदौ १९ गते प्रादेशिक अस्पतालमा आउँदा त्यसै फर्किनु परेको गुनासो उहाँले सुनाउनु भयो । यस अघि पनि उहाँ भदौ १७ गते भ्याक्सिनको लागि आउनु भएको थियो ।

त्यसै गरी, विदेह नगरपालिका–५ का ४४ वर्षीय नरेश सादा भदौ २५ गते भ्याक्सिनको लागी प्रादेशिक अस्पताल आएका थिए तर भ्याक्सिनको अभावमा निराश भएर फर्किनु परेको र निजी अस्पतालमा प्रति भ्याक्सिन ६ सय रुपियाँ तिरेर लगाउनु पर्ने दुखेसो उहाँले पोख्नु भयो ।

एन्टी रेविज भ्याक्सिन (एआरभी) शाखाकी फोकलपर्सन कविता चौधरीले “अस्पतालमा केही दिनदेखि भ्याक्सिन सकिएको छ, कुकुरको टोकाइबाट घाइते भएका १ सयभन्दा बढी व्यक्तिलाई भदौ २५ गते हामीले फर्काउनु पर्‍यो” भन्नु भयो ।

अस्पतालका अकास्मिक शाखाका इञ्चार्ज विरेन्द्र मण्डलका अनुसार ५० ओटा भ्याक्सिन मात्र संचित हुँदादेखि प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र जनकपुरधामसँग माग गरिएकोमा, निरन्तर निरासा मात्र पाएको उहाँको गुनासो रहेको छ ।

त्यसतै, “दुई महिनादेखि हामीले माग गरे अनुसारको भ्याक्सिन संस्थाहरूलाई उपलब्ध गराउन सकेका छैनौं, संघ सरकारले न्यून संख्यामा मात्रै भ्याक्सिन उपलब्ध गराउँदा यस्तो परिस्थित आएको हो”, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका सूचना अधिकारी रामहृदय यादवले बताउनु भयो । सूचना अधिकारी यादवका अनुसार मधेस प्रदेशमा मासिक चार हजार भन्दा बढी एन्टी रेविज भ्याक्सिनको आवश्यकता रहेकोमा प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले २५ सयको सङख्यामा मात्र उपलब्ध गराउने गरेको उहाँले जानकारी दिनु भयो ।

अन्य

भिडियो