INSEC Online

📅 २०८३ जेष्ठ २१

संविधानसभाका अध्यक्षको निधनमा इन्सेकद्वारा शोक व्यक्त

संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा भदौ २६ गते बिहान भएको असामयिक निधनले मर्माहत भएको इन्सेकले जनाएको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले शोक वक्तव्य जारी गर्दै मानव अधिकारप्रति समर्पित  राजनीतिज्ञ नेम्वाङको निधनमा मर्माहत भएको उल्लेख गर्नु भएको हो । ‘शोकको यस घडीमा मानव अधिकार सचेत राजनीतिक व्यक्तित्व स्वर्गीय नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । उहाँका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।’-शोक वक्तव्यमा भनिएको छ ।Subhashchandra Nemwang

नेपालको संविधानमा मानव अधिकार, बहुलवादलगायत सामाजिक न्यायको प्रत्याभूत गर्ने कैयौँ अग्रगामी प्रावधान समावेश गर्न संविधानसभाको अध्यक्षको हैसियतमा उहाँले ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नु भएको थियो ।

नेपालमा मानव अधिकार संवैधानिक संयन्त्रको स्थापनाका लागि पहिलो पटक पहल सुरु गर्दै नेम्वाङले २०४९ सालमा राष्ट्रियसभामा राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी ‘सङ्कल्प प्रस्ताव’ दर्ता गर्नु भएको थियो । पुनर्स्थापित संसद्ले २०६३ सालमा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान पारित गर्न संकल्प प्रस्ताव पारित गर्दा उहाँ सभामुख हुनुहुन्थ्यो ।

पछिल्लो समय उहाँ नेपालको शान्ति प्रकृयालाई दीगो र न्यायपूर्ण रूपमा टुङ्ग्याउन सकृय हुनु हुन्थ्यो । उहाँको मत नेपालको शान्ति र सङ्क्रमणकालीन न्यायको प्रकृयालाई मौलिक ढङ्गले नेपालभित्रैबाट टुङ्ग्याउनुपर्छ भन्ने रही आएको थियो ।

नेम्वाङको निधनले नेपालको लोकतान्त्रिक राजनीति र मानवअधिकार आन्दोलनमा अपूरणीय क्षति पुगेको छ । लोकतन्त्र, सामाजिक न्याय र मानव अधिकारको संरक्षण तथा सम्वर्धनका लागि आजीवन समर्पित नेम्वाङ जनताको स्मृतिमा सदैव जीवित रही रहनु हुनेछ ।

Press Release_2080_05_26

अन्य

भिडियो