जिल्लाको दुर्गम हिमाली गाउँपालिकामा विगत पाँच महिनादेखि खाद्यन्न संकट उत्पन्न हुँदा त्यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।
हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा गत आर्थिक वर्षको चामल ०७९ जेठ महिनामा सकिएपछि पाँच महिनादेखि खाद्य संकट भएको हिमाली गाउँपालिका–३ का स्थानीय धनलाल रोकायाले बताउनु भयो ।
ढुवानी अनुदानको चामल डिपोमा नभएपछि हिमाली गाउँपालिका वडा नम्बर १, २ र ३ को बिच्छँया र वडा नम्बर ४ र ५ को रुगीनमा खाद्य संकट भएको हो । हुम्लाको ताजाकोट गाउँपालिकामा समेत खाद्य संकट उत्पन्न भएको छ ।
दुुई दिनको पैदल यात्रा गरेर कुवाडी अस्थायी डिपोमा चामल किन्न गएको भए पनि डिपोमा चामल नपाएपछि बजारको महँगो चामल किनेर घर फिर्ता हुनु परेको हिमाली गाँउपालिका–१ बिच्छयाँका धर्मलाल रोकायाले गुनासो गर्नु भयो ।
आर्थिक वर्षमा ०७९ / ०८० मा कुवाडी डिपोमा ३ हजार ५ सय कुण्टेल रहेको थियो । कोटाको चामल जेठ महिनामै सकिएपछि डिपोमा चामल नरहेको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड, बाजुराका प्रमुख मेखराज ओझाले बताउनु भयो ।
आर्थिक वर्ष ०८० / ०८१ मा कुवाडी डिपोका लागि २ हजार ५ सय कुण्टेल चामलेको कोटा रहेको छ । उक्त चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुङ्गो नभएको प्रमुख ओझाले बताउनु भयो । कुवाडी डिपोमा चामल भए मोटो चामल प्रति किलो ५२ रुपियाँमा उपभोक्ताले पाउने गरेका थिए । तर, बजारमा सोही चामल प्रति किलो ८० रुपियाँमा स्थानीयले किन्नु पर्ने बाध्यता सृजना भएको छ ।
हिमाली गाउँपालिका–१ बिच्छँयाबाट चामल किन्न भनेर गाउँबाट २५ जना खाद्य डिपोमा आएको भए पनि चामल नपाएपछि बजारको महँगो चामल लगरे फिर्ता भएको स्थानीय अम्मलाल बुढथापाले दुखेसो पोख्नु भयो ।
दुई घण्टा हिडेर सदरमुकाम मार्तडीस्थित खाद्य व्यवस्था तथा ब्यापार कम्पीन लिमिटेडमा चामल लिन गएको भए पनि खाद्य गोदाममा ताला लगाएको देखेपछि बजारबाट महंगो मुल्यमा चामल किनेर आउन बाध्य भएको बडिमालिका नगरपालिका–८ की विमला रावलले बताउनु भयो ।
डिपोबाट ५० किलो चामल किन्ने गरी पैशाको जोहो गरेर आएको भए पनि डिपोमा चामल नभएपछि बजारबाट २५ किलो मात्रै चामल किनेर फर्किनुपरेको उहाँले गुनासो गर्नु भयो ।
साबिकको बिच्छयाँ गाउँविकास समितिमा मात्र ४ हजार जनसङ्ख्या रहेको छ । बिच्छयाँ गाउँका सबै घरमा खाद्य संकट उत्पन्न भएको छ । स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान पुग्दैन् । हिमाली गाँउपालिका जिल्लाको सर्वाधिक बिकट गाँउपालिका हो भने यो गाँउपालिकाको टाँढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ ।
यसैगरी स्वामीकार्तिक गाउँपालिकामा रहेको मुक्तिकोट अस्थायी बिक्री केन्द्रमा पनि चामल सकिएको चार महिना पुगिसकेको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बताउनु भयो । गत आर्थिक वर्षको ५ सय कुण्टेल चामल जेठ महिनाको अन्तिममै सकिएको कारण स्थानीयहरुले खाद्य संकट बेहोर्नु परेको र गाउँपालिकाबाट पनि तत्काल खाद्यन्न उलब्ध गराउन सकिने अवस्था नरहेको अध्यक्ष रोकायको भनाइ छ ।
मार्तडीस्थित खाद्य डिपोमा कारागारका कैदीबन्दीका लागि १ सय कुण्टेल चामल मौजाद रहेको र कोल्टि खाद्य डिपोमा ३ सय कुण्टेल चामल मौजात रहेको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ ।
खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड, बाजुरा शाखा प्रमुम मेखराज ओझाले ठेक्का बोलपत्र आह्वान ०८० साउन २१ गते सकिएको भए पनि ढिलासुस्ती गरिएको खण्डमा स्थानीयहरुले दशैसम्म पनि चामल पाउन सक्ने अवस्था नरहेको बताउनु भयो ।
जिल्लामा धेरैजसो दशै र तिहारमा खाद्यन्न अभाव हुने गरेको छ । यस वर्षको दशैसम्म खाद्यन्न अभाव नहुँने भन्दै आएको खाद्य व्यावस्था तथा ब्यापार कम्पनी आर्थिक वर्ष सुरुभएको दुई महिना नपुग्दै चामल अभाव भएको सूचना टाँस गरी खाद्यन्न गोदाममा ताला लगाएको छ ।
आफ्नै उत्पादनले तीन महिनासम्म खान पुग्ने जनसङ्ख्या जिल्लामा ४० प्रतिशत छ । हरेक वर्ष ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको कृषि ज्ञान केन्द्र, बाजुराको तथ्याङ्क छ ।
अपुग खाद्यान्नको पुर्ति खाद्य संस्थान र बजारबाट हुने गरेको र कुल जमिनको ९ दशमलव २१ प्रतिशत मात्रै खेतीयोग्य जमिन रहेका कारण पनि यस जिल्लामा वर्षेनी खाद्य अभाव हुनेगरेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैसीले बताउनु भयो ।

