INSEC Online

📅 २०८३ जेष्ठ २१

बढ्दो आत्महत्याको दरले विकराल रुप लिँदै

लमजुङमा आत्महत्याका घटना न्यूनिकरणमा कुनै पनि उपलब्धि हासिल हुन नसकेको एक तथ्याङ्कले देखाएको छ । जिल्लामा आत्महत्या रोकथामका लागि केहि प्रयास भएपनि घटना न्यूनिकरण भने हुन नसकेको हो । यस्तो बढ्दो आत्महत्याको दरले विकराल रुप लिँदै गएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको हालसम्मको अवधिमा ६ जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार चालु आर्थिक वर्षको करिव डेढ महिनाको अवधिमा भएको आत्महत्याको तथ्याङ्कले आत्महत्या समस्याको रुपमा विकराल बन्दै गइरहेको देखाएको छ ।  यस्ता घटना न्यूनिकरण तथा रोकथामका लागि बेलैमा आत्माहत्याको कारण पत्ता लगाई समाधान प्रक्रियामा जान  जरुरी देखिएको छ ।

लमजुङ जिल्लाको आत्महत्यासम्बन्धी  पाँच वर्षको तथ्याङ्कलाई हेर्दा यस्ता घटना घट्ने क्रम जारी छ । आर्थिक वर्ष ०७४/०७५ मा २३ जना, ०७५/०७६ मा ३४ जना र ०७६/०७७ मा ३१ जनाले आत्महत्याको बाटो रोजेर जिवन समाप्त गरेका छन् । त्यस्तै आर्थिक वर्ष ०७७/०७८ मा ३५ जना , ०७८/०७९ मा ३८ जना र  आर्थिक वर्ष ०७९/०८० मा ३९ जनाले आत्महत्या गरी देह त्याग गरेका  छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार विगत पाँच वर्षमा जिल्लामा २ सय जनाले आत्महत्याको बाटो रोजेर जिवन समाप्त गरेका छन् । जिल्लामा आत्महत्या गर्नेमा महिला भन्दा पुरुष बढि रहेको तथ्याङ्कले देखाएको छ । आत्महत्या गर्नेमा बालबालिकादेखि ज्येष्ठ नागरिक सम्मका व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक प्रकाश श्रीमलले बताउनुभयो ।

आत्महत्याका अधिकांश घटना मानसिक स्वास्थ्य समस्यासँग जोडिने भएपनि आत्महत्यालाई अपराधको रुपमा लिइने हुदाँ यस्ता घटना हुन नदिन आफूहरुपनि जिम्मेवार भएर लागिपरेको उहाँले बताउनुभयो ।

आत्महत्या गर्नुको पछाडि गरिबी, बेरोजगारी, प्रेम वियोग, असफलता, क्षणिक आवेश, मानसिक समस्या र घरेलु हिंसा आदि प्रमुख कारणहरु रहेको प्रहरी नायव उपरिक्ष श्रीमलले वताउनुभयो । आत्महत्याको अर्को महत्वपूर्ण कारण सामािजक सञ्जाल पनि बन्न पुगेको छ, आगामी दिनमा आत्महत्याका घटना नहुन भन्नका लागि सबै निकाय मिलेर अघि बढ्नुपर्ने प्रहरी नायव उपरिक्षक श्रीमल बताउनुहुन्छ ।

आत्महत्याका कारण विभिन्न भएपनि ८० प्रतिशत आत्महत्याका घटना मानसिक स्वास्थ्यसँग सम्बन्धित रहेको छ । उपचार गरेमा मानसिक स्वास्थ्य समस्या निको हुने र सहि तरिकाले जीवनयापन गर्न सक्ने भएकाले कुनै पनि समस्या लुकाएर राख्न नहुने मनोचिकित्सकको भनाई छ ।

मानिसहरु मानसिक र आध्यात्मिक रुपमा स्वस्थ्य भए मात्र आत्महत्या जस्ता घटनाहरु कम हुँदै जाने प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताउनु भयो । आमा समूह, विद्यार्थी, युवा समूह, ज्येष्ठ नागरिकहरुमा पनि मानसिक समस्या हुने हुँदा उनीहरुको कुरा जिम्मेवार व्यक्तिले समय निकालेर सुनिदिएमा पनि आत्महत्या जस्ता परिस्थिति सिर्जना नहुने उहाँको भनाई छ ।

अन्य

भिडियो