संविधानसभा अध्यक्ष एवम् सांसद सुवासचन्द्र नेम्वाङको हृदयघातबाट भदौ २६ गते बिहान निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उहाँलाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएकोमा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिनु भएको छ ।
२०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य हुनुभएका नेम्वाङले इलामबाट २०५६ सालदेखि निरन्तर संसदीय चुनाव जित्दै आउनु भएको थियो ।
२०६४ सालको संविधानसभा निर्वाचन र ७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम- २ बाट विजयी भएर संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहनु भएका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्यप्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत हुनु भएको थियो ।
जनआन्दोलन ०६२– ०६३ सँगै पुनर्स्थापित संसदको सभामुख बन्नुभएका नेम्वाङ चारपल्ट सभामुख बन्दा सधैं सर्वसम्मत हुनु भएको थियो ।
मानव अधिकार आयोग स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेम्वाङले उहाँ राष्ट्रियसभामा रहँदा राष्ट्रिय मानव अधिकार आयोग गठनबारे सङ्कल्प प्रस्ताव दर्ता गराउनु भएको थियो । नेपालमा मानव अधिकार आयोग चाहिन्छ भन्नेमा उहाँले संसदमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो ।