सशस्त्र द्वन्द्वको समयमा तत्कालिन विद्रोही नेकपा (माओवादी) ले हात काटेर अपाङ्ग भएका साबिक बराम्ची गाविस-३ हाल जुगल गाउँपालिका-५ का ४९ वर्षीय धम्बरबहादुर श्रेष्ठले न्याय र राहतका लागि पहल गरिदिन इन्सेकसँग आग्रह गर्नुभएको छ ।
पीडित श्रेष्ठको ०६२ असार २ गते घर नजिक पाखामा लगेर चोरी गरेको आरोपमा देब्रे हात खुकुरीले प्रहार गरी घाइते बनाएका थिए । हात काट्नु भन्दा चार दिन अघि धम्बरबहादुरलाई माओवादीले घरबाट अपहरण गरी लगेका थिए ।
हात काटेर पनि उपचारको लागि मओवादीले कतै जान नदिएको पीडितको भनाई छ । उहाँले स्थानीय स्वास्थ्य चौकीमा नै उपचार गराउनुभएको थियो । घाउको उपचार नभएर धेरै पटक किरा परेको र तीन वर्षपछि मात्र काटेको घाउ निको भएको उहाँले उल्लेख गर्नुभयो ।
आफ्नो हात काट्ने व्यक्तिहरू आफूले चिनेको भन्दै अहिले एक जनामात्र जीवित रहेको र अन्य तीन जनाको मृत्यु भैसकेको पीडित धम्बरबहादुर बताउनुहुन्छ ।
द्वन्द्वरत पक्षले द्वन्द्वको समयमा हात काटेर पनि राहतको लागि कतै जान नदिएको पीडितको गुनासो छ । राहतको लागि आफूलाई कतै निवेदन नदिनु भन्दै माओवादीले आदेश गरेको पीडित बताउनुहुन्छ ।
जुगल गाउँपालिकामा मानव अधिकारको अवस्था बारे अनुगमन गर्न जाँदा पीडितले इन्सेक प्रतिनिधिसँग घटनाको बारेमा बताउँदै राहत र न्यायका लागि पहल गरिदिन आग्रह गर्नुभएको हो । उहाँलाई स्थानीय तहले ‘ग’ वर्गको अपाङ्ग परिचयपत्र दिएको छ ।
