INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पतालको अक्सिजन प्लान्ट ६ महिनायता प्रयोगविहीन, बिरामीलाई सास्ती

त्रियुगा नगरपालिका-१२ पुरानो गाईघाटका ५८ वर्षीय लल्कु चौधरी ज्वरो, टाइफाइड र दमका कारण ०८० भदौ ७ गते जिल्ला अस्पतालमा भर्ना हुनु भयो ।

उहाँलाई स्वास्थ्यकर्मीले चेकजाँच पश्चात औषधि लेखिदिए । दमका बिरामी भएका कारण लल्कुलाई अक्सिजन दिनुपर्ने अवस्था थियो ।

Photo 20230904 Udayapur (6)

तर, जिल्ला अस्पतालमा रहेको अक्सिजन प्लान्ट बिग्रिएको कारण ६ महिनायता प्रयोगविहीन अवस्थामा रहेको र बाहिरबाट ल्याइएको अक्सिजन समेत सकिएका कारण लल्कुलाई जिल्ला अस्पतालमा राखी उपचार गर्दा खतरा हुने भएपछि स्वास्थ्यकर्मीको समन्वयमा त्रियुगा नगरपालिकाको एम्बुलेन्समा लल्कुलाई कोशी अस्पताल, विराटनगर पुर्‍याएर उपचार गरियो ।
आर्थिक अवस्था कमजोर भएका लल्कुको जिल्ला अस्पतालमा अक्सिजन अभावकै कारण जीवन जोखिममा परेको थियो ।

त्रियुगा नगरपालिका-२ मोथीयाइका ६१ वर्षीया मिथिला चौधरी ज्वरो र निमोनियाका कारण ०८० भदौ ११ गते जिल्ला अस्पतालको इमरजेन्सीमा भर्ना हुनु भयो । उहाँलाई पनि अक्सिजनकै आवश्यकता थियो । तर अस्पतालका स्वास्थ्यकर्मीले अक्सिजन सकिएको भन्दै विराटनगर लैजान बिरामीका आफन्तलाई सल्लाह दिए । उहाँलाई तत्काल विराटनगर लगेर उपचार गरियो ।

जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट प्रयोगविहीन हुँदा अक्सिजन आवश्यक भएर बिरामीलाई जिल्ला बाहिर रिफर गरिनुपर्ने लल्कु र मिथिला प्रतिनिधि मात्र हुन् ।

जिल्ला अस्पतालमा दुई महिनायता बिरामीको चापका कारण बेड र अक्सिजन अभावमा धेरै बिरामीलाई जिल्ला बाहिर पठाइने गरिएको छ ।

कोभिड-१९ को समयमा प्रदेश सरकारको ७२ लाख रुपियाँ लागतमा निमार्ण भएको अक्सिजन प्लान्ट ०७९ फागुनदेखि बिग्रिएर थन्किएको छ ।

बिग्रिएको अक्सिजन प्लाण्ट मर्मतका लागि न प्रदेश सरकारको ध्यान पुगेको छ, न त स्थानीय सरकारको नै । सबै सरोकारवालाहरू बेखबर हुँदा जिल्ला अस्पतालमा स्वास्थ्य सेवा लिने सेवाग्राहीले सास्ती खेप्नु परिरहेको छ ।

अक्सिजन प्लान्टको बिग्रिएको सामान फेर्न ७ लाख रुपियाँ लाग्ने र चीनबाट ल्याउनुपर्ने भएकाले मर्मत नगरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अक्सिजन प्लान्टको क्षमता थप गर्न ५० लाख रुपियाँ भन्दा बढी खर्च लाग्ने र पुरानो मर्मत गर्न समेत महङ्गो भएकाले बाहिरबाटै अक्सिजन ल्याएर काम चलाउने गरिएको अस्पतालका प्रशासन प्रमुख योगेश्वर खनालले बताउनु भयो ।

खनालले यातयात खर्चबाहेक प्रतिसिलिण्डर ३ सय ५० रुपियाँका दरले बेलका नगरपालिकाको रामपुरमा रहेको ‘अक्सिजन प्लान्ट’ बाट ल्याउने गरिएको छ । बिग्रिनुभन्दा पहिले जिल्ला अस्पतालको प्लान्टबाट दैनिक ५-६ सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको थियो ।

जिल्ला अस्पतालमा अक्सिजनकै अभावमा बिरामीलाई अन्यत्र लैजानुपरेको बिरामीका आफन्तले गुनासो गरेका छन् । ‘केही समय ढिला भएको भए आमाको अवस्था जे पनि हुने थियो, धन्न विराटगनर पुर्याइयो ढुक्क भइयो,’ मिथिला चौधरीका छोरा श्यामु चौधरीले भन्नु भयो ।

‘अस्पताल प्रशासन, अस्पताल व्यवस्थापन समिति, नगरपालिकालगायतलाई अक्सिजन प्लाण्ट निर्माणका विषयमा ध्यानाकर्षण गराएका छौं, तर समस्या उस्तै छ,’ मानव अधिकारकर्मी माया भण्डारीले भन्नु भयो ।

अक्सिजन प्लान्ट मर्मत गरी सञ्चालनका लागि प्रदेश सरकारलाई लेखेर पठाएकोमा आश्वासन मात्र पाएको तर अहिलेसम्म काम नभएको जिल्ला समन्वय समिति उदयपुरका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गौरबहादुर विश्वकर्माले बताउनु भयो ।

अक्सिजन प्लान्ट सञ्चालन, अस्पतालको भौतिक पूर्वाधार निमार्ण र कर्मचारी व्यवस्थापनका लागि जिल्लाका सबै स्थानीय तहहरूलाई आर्थिक सहयोगका लागि अनुरोध गरिएको जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गौरबहादुर विश्वकर्माले बताउनु भयो ।

अक्सिजन प्लाण्ट निर्माणका लागि ०८० भदौको दोस्रो सातासम्म त्रियुगा नगरपालिकाले बाहेक कुनै पनि स्थानीय तहबाट सहयोग नपाएको अध्यक्ष विश्वकर्माको भनाइ छ ।

Photo 20230904 Udayapur (1)

Photo 20230904 Udayapur (2)

Photo 20230904 Udayapur (4)

अन्य

भिडियो