चौरपाटी गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैङ्कसम्म आउन वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको हो ।
चौरपाटी गाउँपालिका ७ मार्कुका ७९ वर्षीय चन्द्रदेव पुजाराले आफ्नै घरछेउबाट भत्ता लिन पाउँदा सहज भएको बताउनु भयो । गाउँपालिकाले आफ्नो ठाउँमा आएर भत्ता दिएपछि सजिलो भएको पुजाराको भनाइ छ । एक घण्टा भन्दा बढि समय लगाएर गाउँपालिका केन्द्र वैंकमा पुगेर घण्टौँसम्म लाइन बसेर वृद्घभत्ता वुझ्दा सास्ती हुँदै आएकोमा गाउँमै भत्ता पाउँदा सुविधा भएको पुजाराले बताउनु भयो ।
स्थानीय ७५ वर्षीय उदय साउद पनि यस आर्थिक वर्षको सुरूमै भत्ता वडाबाटै बुझ्न पाउदा निकै उत्साहित हुनुभएको छ । सरकारले दिएको भत्ताले जीवन गुजारा चलाउन सहज भए पनि भत्ता लिन गाउँपालिकासम्म जान सास्र्ती हुँदै आएकोमा वडामा आएर गाउँपालिकाका कर्मचारी र बैङ्कले भत्ता उपलब्ध गराउनु भएकोले धेरै सहज भएको बताउनु भयो । ‘भत्ताको लागि चौरपाटी र साँफेबगर जाँदा ज्येष्ठ नागरिकलाई निकै असहज हुने गरेको थियो ।’ उहाँले भन्नु भयो–‘गाउँपालिकाले आफ्नो ठाउँमा आएर भत्ता दिएपछि म जस्ता धेरैलाई सजिलो भएको छ ।’ अहिले यहाँबाट भत्ता पाउँदा निकै हर्षित भएक छौँ ।’

चौरपाटी गाउँपालिका–६ दूनीका ६८ वर्षीया झाक्रिदेवि आउजी पनि वडामै भत्ता पाएकोमा खुसी हुनु भएको छ । बैङ्कमा परिवारका सदस्यको सहयोगमा पुग्ने गरेको भए पनि आउँदा जाँदा भने अति नै समस्या भोग्नुपरेको उहाँले अनुभव सुनाउनु भयो । आउजीले भन्नु भयो– ‘बैङ्कमा पुगेर आफ्नो भत्ता लिन निकै समस्या थियो । बुढौली ज्यान हिँडेर जान समस्या । सवारी साधन रिजर्भ गर्दा धेरै खर्च हुन्छ । त्यसमाथि बैङ्कमा गएर लाइन बस्नुपर्दा धेरै कष्ट हुन्थ्यो । स्थानीय सरकारले वडामै आएर सामाजिक सुरक्षा वितरणले धेरै सहज भएको उहाँको भनाइ छ ।
प्रभु बैङ्कका शाखा प्रवन्धक अर्जुनकुमार वनले चौरपाटी गाउँपालिकाको समन्वय, यातायातको उपलब्धता, सुरक्षा व्यवस्था र गाउँपालिकाका पञ्जिकरण शाखाका कर्मचारीको सहयोगमा वडामै पुगेर भत्ता वितरण सम्भव भएको बताउनु भयो ।
बैङ्कमा आउँदा सेवाग्राहीले लाईन लाग्नु पर्ने र भीड व्यवस्थापन गर्न चुनौति हुँदै आएकोले वडा कार्यालमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सेवाप्रदायक र सेवाग्राही दुवैलाई सहज भएको प्रभु शाखा प्रवन्धक वनको भनाइ छ ।

सामाजिक सुरक्षा भत्ता लिन भौगोलिक रूपमा टाढा हुँदा गाउँपालिकामा आवतजावत गर्न वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सामाजिक सुरक्षा वितरण सुरू गरेको गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले जानकारी दिनु भयो । गाउँपालिका केन्द्रमा रहेको बैङ्कबाट भत्ता वितरण गर्दा उहाँहरूलाई समस्या भएको देखेर अहिले वडा कार्यालयबाट वितरण थालेका बताउनुभयो ।
गाउँ कार्यपालिकाको निर्णय अनुसार बैङ्क तथा सुरक्षा निकायसँग समन्वय गरेर भत्ता वितरण कार्यलाई वडास्तरबाट सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष साउदको भनाइ छ । चौरपाटी गाउँपालिका क्षेत्रमा ४ हजार ९ सय ८२ जनाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएको पञ्जीकरण शाखा प्रमुख कालुसिंह बोहराले बताउनु भयो ।
चौरपाटी गाउँपालिकामा वार्षिक रूपमा सामाजिक सुरक्षा भत्ताबापत १३ करोड २० लाख रूपियाँ वितरण हुँदै आएको छ ।
