बलपूर्वक बेपत्ता पारिएका परिवारको समस्या सम्बोधन गर्न प्रदेश सरकारले कानुन अनुसार नीति तथा कार्यक्रम बनाएर कार्यान्वयन गर्ने सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री झपड साउदले प्रतिवद्धता जाहेर गर्नु भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक सुदूरपश्चि प्रदेश कार्यालय, धनगढी, एडभोकेसी फोरम, रेडक्रस र मानव अधिकारका लागि एकल महिला समुह लगायतका संघसंस्थाहरुका सयुक्त आयोजनामा भदौ १३ गते धनगढीमा आयोजित बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको १३ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा सरोकारवालाहरुसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रममा मन्त्री साउदले सो प्रतिवद्धता जाहेर गर्नु भएको हो ।
उहाँले भन्नु भयो—‘राज्यले वेपत्ताहरुको खोजविन गर्न जिम्मेवार बन्न नसकेको यथार्थ नै हो । बेपत्ता आयोगले पीडितको अपेक्षा अनुसार काम गर्न नसक्दा पीडितहरु झन् पीडा बोध गर्नु परेको छ । बलपूर्वक बेपत्ता पारिएका परिवारको समस्या सम्बोधन गर्न प्रदेश सरकारले कानुन अनुसार नीति तथा कार्यक्रम बनाएर कार्यान्वयन गर्नु पर्छ ।’

प्रमुख जिल्ला अधिकारी युवराज कटेलले विगतका दिनहरुमा गरिएका कार्याक्रमको समीक्षा गर्दै राज्यले पीडित परिवारका् जिवनस्तर उकास्न जिविकोपार्जनका काम गर्नु पर्ने र जिल्ला प्रशासन कार्यालय, कैलालीले पीडितको पक्षमा सहयोग पुग्ने कार्यहरु गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले बेपत्ता पारिएकाहरुको तथ्याङ्क इन्सेकले समयमा सार्वजनिक गरेको भए पनि राज्यले सुनवाई नगरेको कारण पीडितहरुको तथ्याङ्क पनि एकिन हुन नसकेको बताउनु भयो ।
उहाँले भन्नु भयो—‘राज्यले पीडित परिवारको समस्या सम्बोधन गर्न नसक्दा बेपत्ता पारिएका परिवारको पीडा झन् दर्दनाक बनेको छ । पीडितहरुको न्यायका लागि तीनै तहका सरकार, नागरिक समाज र संघसंस्थाहरुले पहल गर्न आवश्यक छ ।’

बेपत्ता परिवारकी पीडित कृती चौधरीले अहिलेसम्म बेपत्ता पारिएका पतिको अवस्था सार्वजनिक नगरिएको कारण आफूहरुले थप समस्या झेल्नु परेको बताउनु भयो ।
पीडित जानकी जोशीले राज्यसँग सत्यतथ्य तथ्याङ्क नहुँदा पीडित परिवारहरुले राज्यबाट पाउनु पर्ने सेवासुविधाबाट वञ्चित हुनु परेको बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख हरी ज्ञवाली र बेपत्ता पारिएका परिवार छानबिन आयोगका उपसचिव नवराज आचार्यले बेपत्ता परिवारहरुका लागि सरकारले गरेका काम कारबाहीका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।