INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारकर्मी टेकनाथ बरालको निधनमा इन्सेकद्वारा श्रद्धाञ्जली व्यक्त

पोखरामा रही मानव अधिकार तथा सामाजिक न्यायका सवालमा ५ दशकदेखि निरन्तर क्रियाशील मानव अधिकारकर्मी टेकनाथ बरालको ८५ वर्षको उमेरमा भदौ १२ गते  निधन भएकोमा इन्सेकले दुःख व्यक्त गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले भदौ १२ गते नै शोक वक्तव्य जारी गर्दै उहाँको निधनप्रति दुःख व्यक्त गर्नु भएको हो ।

Teknath_Baralइन्सेकका साधारण सदस्य एवम् इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको प्रकाश मानव अधिकार पुरस्कारबाट २०६२ सालमा  इन्सेकद्वारा पुरस्कृत बरालको निधनले मानव अधिकारको क्षेत्रमा अपुरणीय क्षति भएको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताउनु भएको छ ।

स्व. बराल सशस्त्र द्वन्द्वको समयमा पोखरामा स्थापना भएको नागरिक समाजको सञ्जालका एकजना संस्थापक तथा पूर्व संयोजकका साथै महिलाविरुद्धको हिंसा, दाइजो विरोधी अभियान, असमानता तथा कुरीतिविरुद्धका सामाजिक पहलका साथै विभिन्न किसिमका विभेदविरुद्ध क्रियाशील हुनुहुन्थ्यो । सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार तथा मानवीय कानुनको उल्लङ्घनका घटनाको अनुगमन, लोकतन्त्रको स्थापनाका लागि भएको आन्दोलन, द्वन्द्वपीडितका अधिकारका सवालमा उहाँले भूमिका निर्वाह गर्नुभएको थियो ।

अध्यक्ष डा. अर्यालले मानव अधिकारको क्षेत्रमा स्व. बरालले पुर्‍याउनु भएको योगदानका कारण उहाँ सधैँ नेपाली समाजको स्मरणमा रही रहनु हुने उल्लेख गर्नु भएको छ ।

उहाँ रक्तचाप र श्वासप्रश्वास समस्याबाट पीडित हुनुहुन्थ्यो । १९९६ सालमा पोखराको नुवारथोकमा जन्मनुभएका बराल २००७ सालमै राणाविरोधी आन्दोलनमा सहभागी हुनु भएको थियो । त्यसयता उहाँ प्रजातन्त्र र मानव अधिकारको आन्दोलनमा निरन्तर लागिरहनु भएको थियो ।

अन्य

भिडियो