INSEC Online

📅 २०८३ जेष्ठ २१

अधिकारकर्मीद्वारा कास्कीको बालसुधार गृहको अनुगमन

कास्कीको बालअधिकारका लागि नागरिक समाजको टोलीले २०८० भदौ १० गते कास्कीको पोखरा महानगरपालिका– १८ सराङकोट स्थित बालसुधार गृहको अनुगमन गरेको छ ।  बालसुधार गृहको अवस्था र समस्याका बारेमा अधिकारकर्मीहरुद्वारा उक्त बालगृहमा रहेका बालकहरुसँग अन्तरक्रिया गरेर त्यहाँ रहेको समस्याहरुको पहिचान गरिएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय प्रमुख शिव खकुरेलले ‘पछिल्लो पटक केही बालगृहमा तोडफोड भएको र बालगृहबाटै बालकहरु हराएको विषयहरु आइरहेका छन् । सोही विषयलाई मध्यनजर गर्दै कास्कीमा रहेको बालसुधार गृहको अवस्था बुझन् अनुगमन गरेका हौं,’ भन्नुभयो ।

बालगृहमा अप्रिय घटनाहरू हुन नदिनकालागि बालकहरूका समस्या र सुधारगृहको व्यवस्थापनका विषयमा बुझ्न आँफूहरु पुगेको उहाँको भनाई छ । अनुगमनका क्रममा बालसुधार गृहकी मनोविमशकर्ता ज्योति शर्माले बालगृहको अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । उहाँले गृहमा बालकहरुलाई स्वास्थ्य उपचार गराउन मुस्किल भएको प्रतिक्रया दिनुभयो । गृहमा गाडी नभएकाले स्वास्थ्य उपचारका बेलामा अस्पताल लैजान कठिनाइहरु भोग्नुपरेको उहाँको भनाई छ ।

brefikin g

अनुगमनका क्रममा सुधार गृहका बालकहरूले शिक्षा, स्वास्थ्यका बारेमा समस्याहरु राखेका थिए । बालकहरुले उच्च शिक्षा पढ्न व्यवस्था नभएको, अस्पतालसम्म जान गृहको गाडी समेत नभएको उल्लेख गरेका थिए । केही बालकहरुले पढ्ने इच्छा हुँदा हुदैपनि विद्यालय र शिक्षकको व्यवस्था नहुँदा पढ्न नपाएको गुनासो गरेका थिए । कतिपय बालकहरुले कारागारले दिने चामल र दैनिक सिदा समेत नपुग्ने गरेको गुनासो गरेका थिए । विभिन्न बाल बिज्याइमा परेका बालकहरू मध्ये केहि दीर्घ मुटुरोगी समेत रहेको पाइएको छ ।

अनुगमन टाेलीद्धारा अनाैपचारिक अन्तक्रिया

पोखरा उद्योग वाणिज्य संघकी विजया अधिकारीले बालसुधार गृहमा आगामी दिनमा सीपमुलक तालिमहरू सिक्न चाहने बालकहरूका लागि व्यवस्था गर्न पहल गर्ने बताउनु भयो ।

कोपिला नेपालकी बिना सिलवालले बालकहरूको न्यूनतम बाल अधिकार सुनिश्चित गर्न पहल गर्ने बताउनुभयो । अनुमगनमा  नेपाल बाल संगठन कास्कीका सभापति वामदेव ढुंगाना र सिविन नेपालबाट कृष्णा गुरुङले अनुगमन गर्नुभएको थियो । अनुगमनले अप्रिय घटना हुन नदिन र बालसुधार गृहलाई बालमैत्री बनाउन अनुगमन गरेको इन्सेक प्रमुख खकुरेलले बताउनुभयो ।

बालसुधार गृहमा रहेका बालकहरूको बाल मनोसामाजिक परामर्श, शिक्षा, सीपमुलक तालिमहरू प्रदान गर्न जिल्ला स्थित विभिन्न सरोकारवालाहरूलाई आग्रह गर्ने र देखिएका समस्या समाधान गर्ने अनुगमन टोलीले निर्णय गरेको छ ।

कास्कीको सराङकोट स्थित बालसुधार गृहमा हाल विभिन्न बाल बिज्याइमा परेका ८६ जना बालकहरू रहेका छन् । अधिकांश बालकहरुले मुद्दाको छिनोफानो ढिला हुने गुनासो गरेका थिए । बालकहरुले मुद्दा जति सक्दो छिटो फछर्याैंट हुने व्यवस्था गरिदिन अधिकारकर्मीसँग माग गरेका थिए ।

अनुगमन टाेलीद्धारा अनाैपचारिक अन्तक्रिया १

अन्य

भिडियो