INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारको घटना मिलाउन जनप्रतिनिधिको रोहबरमा बैठक

१२ वर्षीया बालिकालाई एक विद्यालयका प्रधानाध्यपक ऋषिङ गाउँपालिका–७ का झुलबहादुर आलेले बलात्कार गरेको घटनाको मिलापत्र गराउन ऋषिङ गाउँपालिकाका जनप्रतिधिको रोहबरमा बैठक बसेको पीडित पक्षले जानकारी दिएका छन् ।

पीडित बालिकालाई आलेले २०८० साउन ३१ गते साँझ बालिकाको घरमा कोही नभएको मौकामा बलात्कार गरेको पीडितको परिवारले जनाएको छ ।

सो घटनाको बारेमा बालिकाले अभिभावकलाई जानकारी गराएपछि पीडित परिवारले घटनाको भोलीपल्ट गाउँमा आमा समुह मार्फत पीडितलाई कारबाहीकोलागि छलफल गर्दा जनप्रतिनिधि सहितको उपस्थितीमा आरोपित पक्षले घटना मिलाउन पीडित परिवारलाई २० हजार रुपियाँ दिएर मिलापत्र गर्ने प्रस्ताव गरेका थिए । सो बैठकमा गाउँपालिकाको कार्यपालिका सदस्य निलकुमारी थापा समेत उपस्थित हुनुहुथ्यो । कार्यपालिका सदस्य थापाले आफु उक्त छलफलमा सहभागी भएको तर रकमको बारेमा जानकारी नभएको बताउनु भयो ।

उक्त छलफलमा पीडित परिवारले मिलापत्र गर्न असहमती जनाएपछि २०८० भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा आरोपितलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराउनुभएको थियो । पीडित बालिकाको सोही दिन दमौली अस्पतालमा स्वास्थ्य परीक्षण भयो ।

मिलापत्र गर्न पीडित परिवारले नमानेपछि आरोपित शिक्षक सोही दिनदेखी फरार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अवदेश विष्टले जानकारी दिनुभयो । विष्टले आरोपितको खोजी भइरहेको बताउनु भयो । एसपी विष्टले उक्त घटना गाउँमै मिलापत्र गर्न खोज्ने कार्यको बारेमा पनि अनुसन्धान गरिने बताउनु भयो ।

आरोपित फरार भएपछि पीडित बालिका गाउँबाट विस्थापित भएको पीडित पक्षले जनाएको छ । बालिका घरमा बस्न नसकेपछि आफन्तको घरमा गएर बसेको बालिकाकी आमाले बताउनु भयो । आफुहरुलाई प्रहरीमा दिएको उजुरी फिर्ता लिन पटक पटक दवाव आइरहेको पीडितकी आमाले बताउनु भयो ।

अन्य

भिडियो