INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रिय मानव अधिकार आयोगद्वारा भक्तपुरस्थित बालसुधार गृहमा भएको घटनाको अनुसन्धान सुरु

राष्ट्रिय मानव अधिकार आयोगले भक्तपुरको मध्यपुरथिमी नगरपालिका-२, सानोठिमीस्थित बालसुधार गृहमा ०८० भदौ ३ गते रामेछापका बन्दी १९ वर्षीय कमल बस्नेतको मृत्युको घटनालाई लिएर सुधार गृह तोडफोड गर्दै बालबालिकाहरू बाहिर निस्केको घटनाका बारेमा छानबिन सुरु गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा भदौ ७ गते जारी विज्ञप्तिमा आयोगले बस्नेतको मृत्यु भएको घटनामा उजुरी दर्ता गरी अनुगमन मार्फत घटनाको अनुसन्धान अघि बढाएको उल्लेख छ ।

घटनाको छानबिनका लागि स्थलगत अनुगमनको क्रममा आयोगले बालसुधार गृहमा रहेका बालबालिकाहरू, बालसुधार गृहको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरीबाट गठित छानबिन समिति तथा भक्तपुर जिल्ला सुरक्षा समितिबाट गठित छानबिन समितिका सदस्यहरूसँग प्रत्यक्ष भेटेको जनाएको छ ।

आयोगले बालसुधार गृहको व्यवस्थापनको जिम्मेवारी लिएको युसेप नेपालले आफ्नो नियन्त्रण र निगरानीमा राखिएका बिरामी कमल बस्नेतको स्वास्थ्योपचारमा संवेदनशीलता नदेखाएको एवम् सुधार गृहका कमाण्डरहरूले आवश्यक समन्वय गर्न नसकेकोले सामान्य बिरामी परेका निज कमलको उपचारको अभावमा मृत्यु भएको भन्दै बालसुधार गृहका बालकहरूको समूहले भदौ ४ गते ढुङ्गामुढा तथा तोडफोड गरी सुधार गृहबाट भागेको, भागेकामध्ये केही सम्पर्कमा आएको र अझै दश जना सम्पर्कमा आउन बाँकी रहेको उल्लेख गरेको छ ।

आयोगले बालबालिकाको स्वास्थ्य, सुरक्षा एवम् जीवनको अधिकारप्रति संवेदनशील हुँदै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन र बालसुधार गृहमा भयरहित वातावरणको सुनिश्चितता गर्न र यस प्रकारका घटना पुनः दोहोरिन नदिन सबै पक्षलाई आग्रह गरेको छ ।

अन्य

भिडियो