४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा विष्णुपुर गाउँपालिका–१ का ६० वर्षीय धिरन मण्डललाई भदौ ५ गते तीन वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले आरोपित मण्डललाई कसुरदार ठहर गर्दै तीन वर्ष कैद सजायका साथै ३० हजार रुपियाँ जरिवाना गरेको अदालतले जनाएको छ । यस्तै आरोपितले १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति तिर्नुपर्ने र १ हजार २ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने गरी फैसला भएको छ ।
विष्णुपुर गाउँपालिका–१ स्थित महन्थ बाबाको पोखरी डिलमा खेलिरहेकी बालिकालाई आरोपितले ०७९ भदौ ६ गते बिहान बलात्कार गरेको भन्दै पीडितका हजुरबुबाले जिल्ला प्रहरी कार्यालयमा ०७९ भदौ ६ गते उजुरी दिनुभएको थियो । पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा भदौ ६ गते स्वास्थ्य परीक्षण भएको थियो ।
आरोपित भदौ ६ गते गिरफ्तार भएका थिए । जिल्ला प्रहरी कार्यालयले भदौ ७ गते बलात्कारको उजुरी दर्ता गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा भदौ २९ गते अभियोग पत्र दायर गरेको थियो । न्यायाधीश माधवप्रसाद सुबेदीको इजलासले भदौ ३० गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । एक वर्ष भित्र फैसला भएको सो मुद्दा यौन दुर्व्यवहार ठहर भई कैद सजाय तोकिएको अदलातले जनाएको छ ।