बागलुङको धौलागिरी अस्पतालमा दैनिक ५० जना भन्दा बढी बिरामी भिडियो एक्सरे सेवा लिनको लागि आउँछन् । विभिन्न स्वास्थ्य समस्या लिएर आएका बिरामीलाई स्वास्थ्यकर्मीले भिडियो एक्सरे गर्नुपर्ने सल्लाह दिन्छन् । तर अस्पतालमा अति आवश्यक भिडियो एक्सरे गर्नको लागि रेडियोलोजिष्ट नहुँदा भिडियो एक्सरे सेवा प्रभावित भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुगेकी बागलुङ नगरपालिका–३ की सुनिता क्षेत्रीलाई स्वास्थ्यकर्मीले दिशा, पिसाबको परीक्षण सहित भिडियो एक्सरे गर्न सल्लाह दिनुभएको थियो । बिल काट्न काउण्टर पुगेकी क्षेत्रीलाई अस्पतालमा भिडियो एक्सरे गर्ने स्वास्थ्यकर्मी नभएको भन्दै अन्य जाँचको मात्र काउण्टरका कर्मचारीले बिल काटिदिए । क्षेत्रीले दिशा र पिसाबको मात्र रिपोर्ट डाक्टरलाई देखाएर औषधी लिएर घर फर्किएको बताउनु हुन्छ ।
क्षेत्री जस्तै स्वास्थ्य उपचारको लागि अस्पताल आएका बिरामी भिडियो एक्सरे नगरी फर्कने गरेका छन् । पछिल्लो समय अस्पतालमा सिटिस्क्यान उपकरण भित्रिएको छ । उपकरण जडानको तयारी भइरहँदा बिरामीहरुले भिडियो एक्सरे सेवा समेत पाउन समस्या भएको छ । धौलागिरी अस्पतालले भदौ महिना भित्रै सिटिस्क्यान सेवा सुरु गर्ने तयारी थालेपनि सिटिस्क्यानका लागि आवश्यक रेडियोलोजिष्टको तीन साता अगाडि सरुवा भएको छ ।
सिटिस्क्यान उपकरण जडानको तयारी गरिरहेको अस्पतालमा भिडियो एक्सरे सेवा समेत प्रभावित भएपछि अस्पतालले करारमा रोडियोलोजिष्ट ल्याउने तयारी थालेको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रवि रन्जन प्रधानले जानकारी दिनुभयो ।
पछिल्लो समय धौलागिरी अस्पतालले दैनिक ४ सय देखि ५ सय बिरामीलाई ओपिडी सेवा प्रदान गर्दै आएको छ । सिटिस्क्यान सेवा सुचारु भएपछि रिफर दर घटेर जाने धौलागिरी अस्पतालको भनाई छ ।