तिला गाउँपालिकाका दुर्गम ठाउँका स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव रहेकाे छ । दुर्गम भेगमा पर्ने जुम्लाकोट, राँसा मालापानी, ढिपु, घोडेमहादेव, पोख्री, रिपी र सुडी गाउँ पर्दछन् । सङ्घीयतापछि यी क्षेत्रमा सडक काटिएपनि सवारी साधन सञ्चालन छैन ।
सडकको ट्रयाक मात्रै खोलिएका छन् । दर्गम क्षेत्रका बिरामीलाई उपचारका लागि सदरमुकाम खलंगाको अस्पतालमा लैजान पनि सहज छैन । दुर्गम भेगमा भएका स्वास्थ्य संस्थामा प्रयाप्त औषधि नहुँदा उपचारबाट बञ्चित हुने गरेका छन् ।
साउन र भदौको महिना भनेको वर्षाहुने भएकोले पानी धमिलो हुने र त्यही पानी मानिसले खाने भएका करण स्वास्थ्य संस्थामा झाँडापखालाका बिरामी बढी आउन्छन् । तर दुर्गमका स्वास्थ्य संस्थामा जीवनजल समेतको अभाव रहेको छ ।
स्थानीय मुनबहादुर थापाले भन्नुभयो ‘ स्वास्थ्य संस्थामा जादा जीवनजलसमेत पाईएन । टाउँको दुखेर स्वास्थ्य चौकीमा गएको थिए । सिटामोल पनि पाईएन । ’
तिला गाउँपालिका – ८ जुम्लाकोटस्थित स्वास्थ्य चौकीमा एक सातादेखि जीवनजल अभाव रहेको जनाएको छ । स्वास्थ्य चौकी प्रमुख विराजु जिसिका अनुसार यतिबेला झाँडापखालाको सिजन हो । तर स्वास्थ्य संस्थामा जीवनजलसहित बच्चाको झोल सिटामोलसमेत अभाव छ ।
साउन महिनामा मात्रै ३१५ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन् । दैनिक २५/३० बिरामी स्वास्थ्य संस्थामा सेवा लिन आउने गरेको इन्चार्ज जिसीले बताउनु भयो ।
स्वास्थ्य संस्थामा प्रसुति गृह पनि छ । प्रसुति गृह भएका कारण २४ सै घण्टा पानी, विजुलीको आवश्यक पर्दछ । स्वास्थ्य चौकी इन्चार्ज जिसीले भन्नुभयो गतवर्ष यिनै समस्या समाधान गर्नका लागि सोलार प्रणाली जडान, खानेपानीको धारा जडान र घेरबारका लागि चार लाख रुपियाँ बजेट विनियोजन भएको थियो । यहाँका स्थानीयले उपभोक्ता समितिमार्फत काम गर्ने तयारी गरेका थिए । तर सोलार प्रणाली जस्ता सामग्री उपभोक्ता मार्फत खरिद गर्न नमिल्ने भएपछि चार लाख रुपियाँ रकम फ्रिज भयो ।
यस्तै गरी सोही गाउँपालिका – ९ राँसामालापानीस्थित स्वास्थ्य चौकीमा पनि जीवनजल लगायत अत्यआवश्यक औषधि अभाव रहेको छ । स्वास्थ्य चौकी प्रमुख हर्क रावतका अनुसार जनस्वास्थ्य कार्यालयबाट आएको औषधि स्वास्थ्य संस्थामा पुग्ने गरेको छ । गाउँपालिकाले तीन महिनादेखि औषधि स्वास्थ्य संस्थामा पठाएको छ । औषधि अप्रयाप्त नै हुन्छ । बिरामी आउन्छन् तर स्वास्थ्य संस्थामा औषधि हुदैन । बिरामी दैनिक स्वास्थ्य संस्थामा १५/२० जना आउने गर्दछन् ।
तत्कालीन तिला गाउँपालिका स्वास्थ्य शाखा संयोजक गणेश शाहीले संयोजकको जिम्मेवारी समाल्न नसकिने भएको भन्दै असार १८ गते निवेदन बताउनुभयोे । अब जागीर अवधि ६ महिना मात्रै बाँकी रहेको र उमेरका कारणले पनि धेरै काम गर्न नसकिने भएकोले संयोजकको जिम्मेवारी नलिने निवेदन दिएको उहाँले भनाइ छ ।
गाउँपालिकाको स्वास्थ्य शाखा स्टोरमा जीवनजलसहित अन्य औषधि प्रयाप्त छ । उहाँले भन्नुभयोे स्वास्थ्य चौकीले नलिएर अभाव भएको होला । भदौ ५ गते कर्मचारीको नियमित बैठक हुन्छ । त्यतिबेला कहाँ कहाँ अभाव छ । अभाव भएको ठाउँमा पठाउने छौँ ।
तत्कालीन संयोजक शाहीले काम गर्ने नगर्ने भनेर निवेदन दिएपछि गाउँपालिकाको स्वास्थ्य शाखा नेतृत्वविहिन जस्तो भएको छ । यसले गर्दा स्वास्थ्यकर्मी खटनपटन देखि स्वास्थ्य संस्थामा औषधि व्यवस्थापनसम्म असर परेको देखिन्छ ।
तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाका अनुसार एक हप्ता अघिमात्रै पालिकामा रहेको औषधिको स्टोर अनुगमन गरेका छौँ । स्टोरमा औषधि प्रयाप्त छ । भर्खर मात्रै १२ लाख रुपियाँ बराबरको औषधि स्टोरमा पुगेको छ । स्टोरमा भएको औषधि स्वास्थ्य चौकीमा नपुगेको होला । तत्काल औषधि स्वास्थ्य संस्थामा पठाउने व्यवस्थापन गर्ने छौँ ।
